काठमाडौं । रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–५, भोर्लेमा हिजो दिउँसो करिब ३ बजे गएको सुख्खा पहिरोका कारण सडक अवरुद्ध हुँदा बाढी प्रभावित क्षेत्रमा राहत लिएर जाने तथा फर्किने हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन्।
पहिरोका कारण सडक अवरुद्ध भएपछि लामो समयदेखि यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। अलपत्र यात्रुहरूका अनुसार उनीहरूले हिजोदेखि खानासमेत खान पाएका छैनन्।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवतजावत गरिरहेका सर्वसाधारणसमेत सडक अवरुद्ध हुँदा थप समस्यामा परेका छन्। बालबालिका, वृद्धवृद्धा तथा बिरामी यात्रुहरूलाई झनै कठिनाइ भएको त्यहि बाटोमा यात्रा गरिरहनु भएका यात्री सुधिर कार्कीले अनलाई टिभी नेपाल लाई जानकारी दिनु भएको छ।
स्थानीय तथा यात्रुहरूले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन र अलपत्र परेकाहरूका लागि खानेपानी तथा खानाको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम भइरहेका बेला मुख्य सडक नै अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा पुग्नुपर्ने राहत सामग्री तथा उद्धार कार्यसमेत प्रभावित हुने अवस्था देखिएको छ।
अलपत्र यात्रुहरूले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदै यथाशीघ्र सडक खुलाउन र यात्रुहरूको उद्धार तथा आवश्यक खाद्यान्नको व्यवस्था गर्न माग गरेका छन्।




















प्रतिक्रिया