काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे लक्सनलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री शाहले बाढीपछि बेपत्ता भएका विदेशी नागरिकको खोजीका लागि भइरहेका प्रयासबारे पनि जानकारी गराउँदै पाँच जना न्युजिल्यान्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
सो अवसरमा उनले नेपाललाई न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपत्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउने प्रयासमा न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोग आवश्यक रहेको बताएका छन् ।
वार्ताका क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्युजिल्यान्ड सरकार तथा जनताको तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गरेका छन् ।




















प्रतिक्रिया