कांग्रेस एकताका लागि सभापति गगनले बोलाए कार्यसम्पादन समिति बैठक, खड्का पक्ष महाधिवेशनमा सहभागी हुने


काठमाडौं – नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष असोज ३ गतेदेखि सुरु हुने पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने भएको छ ।

सभापति गगन थापा र उनको समूहले खड्का पक्षले अघि सारेका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि महाधिवेशनमा सहभागी हुने वातावरण बनेको हो ।

खड्का पक्षका माग सम्बोधन गर्न सभापति थापाले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । पार्टीभित्र देखिएको असन्तुष्टि समाधान गर्दै महाधिवेशनलाई एकताबद्ध रूपमा अघि बढाउने उद्देश्यले बैठक बोलाइएको बताइएको छ ।

गत वैशाख दोस्रो साता खड्काले पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि सभापति थापासमक्ष आठबुँदे माग प्रस्तुत गरेका थिए ।

ती मागमध्ये १४औँ महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य बनेका तर विशेष महाधिवेशनपछि जिम्मेवारीबाट बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो ।

देउवा, खड्का र कोइराला पक्षका समेत गरी विशेष महाधिवेशनपछि बाहिर परेका १११ जना नेता–कार्यकर्ताको समायोजन गर्नुपर्ने माग खड्का पक्षले अघि सारेको थियो ।

अब सभापति थापा पक्ष माग सम्बोधनका लागि तयार भएपछि खड्का पक्ष पनि महाधिवेशन प्रक्रियामा सहभागी हुने भएको हो । यससँगै कांग्रेसको महाधिवेशनअघि पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउने प्रयासले गति लिएको छ ।