काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा सुधारका लागि सञ्चालन गरिएको अभियानलाई प्रभावित पार्न केही व्यक्तिले नियोजित रूपमा भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् ।
मधेस प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन गरिरहेका बेला सिरहा र सप्तरीमा दुई व्यक्तिले कार्यक्रमस्थलमा आएर अवरोध सिर्जना गरेको मन्त्री पोखरेलले बताएका छन् ।
सामाजिक सञ्जालमा आफू ‘लखेटिएको’ भन्दै भाइरल भइरहेका भिडियो तथा पोस्टप्रति स्पष्टीकरण दिँदै पोखरेलले छोटो भिडियो क्लिपलाई आधार बनाएर घटनाको वास्तविक सन्दर्भ नै बङ्ग्याइएको दाबी गरेका छन् ।
उनका अनुसार दुई व्यक्तिले कार्यक्रममा हल्ला गरेपछि विद्यार्थी, शिक्षक तथा अभिभावकबाट सुझाव संकलन गर्ने वातावरण प्रभावित हुने अवस्था आएको थियो । तर, उक्त घटनालाई आधार बनाएर सामाजिक सञ्जालमा गलत प्रचार गरिएको उनको भनाइ छ ।
पोखरेलले लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन नहुने बताएका छन् ।
लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुन्छ, तर पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन।
घटनापछि पनि आफूहरूले अभियान नरोकेको मन्त्री पोखरेलले बताएका छन् । उनका अनुसार सोही दिन सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसामा पुगेर विद्यार्थीसँग प्रत्यक्ष संवाद गरिएको थियो ।
शनिबार मात्रै करिब ८ देखि १० वटा विद्यालयमा पुगेर शिक्षा सुधारका लागि सुझाव संकलन गरिएको र आइतबार सप्तरी हुँदै मोरङतर्फ जाने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् ।
मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामप्रति केही पक्ष असन्तुष्ट रहेको हुनसक्ने टिप्पणी गर्दै पोखरेलले आफूहरू राजनीतिक स्टन्ट वा हल्ला गर्न नभई मैदानमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक परिवर्तन ल्याउन आएको बताएका छन् ।
“हल्लाभन्दा काम ठूलो हो,” पोखरेलले भनेका छन् ।




















प्रतिक्रिया