लहान – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कृषि तथा इन्जिनियरिङ क्याम्पस सञ्चालनमा ल्याउन मन्त्रालयले अध्ययन तथा आवश्यक पहल अघि बढाइरहेको बताउनुभएको छ ।
सिरहा–१ का प्रतिनिधिसभा सदस्य तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ताको पहलमा मधेश प्रदेशमा कृषि र इन्जिनियरिङ शिक्षाको विस्तार गर्ने योजना अघि बढाइएको हो । पूर्वमन्त्री गुप्ताले यस विषयमा लामो समयदेखि पटक–पटक पहल गर्दै आउनुभएको बताइएको छ ।
मधेश प्रदेशको कमजोर शैक्षिक अवस्थाप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री पोखरेलले शिक्षाको गुणस्तर सुधारका लागि सरकार, शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
हिजो साँझ सिरहाको लहान आइपुग्नुभएका मन्त्री पोखरेलले आज बिहान लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको अनुगमन तथा निरीक्षण गर्दै कृषि र इन्जिनियरिङ विषयको अध्ययन–अध्यापन सञ्चालन गर्न सकिने सम्भावनाबारे जानकारी लिनुभएको हो ।
मन्त्री पोखरेलका अनुसार लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा कृषि तथा इन्जिनियरिङ संकाय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारको पर्याप्त सम्भावना देखिएको छ । क्याम्पसको पूर्वाधार र शैक्षिक वातावरणलाई थप व्यवस्थित गर्दै नयाँ विषय थप गर्न सकिने उहाँले बताउनुभयो ।
राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कृषि तथा इन्जिनियरिङ संकाय सञ्चालनका लागि आफूले आजैदेखि आवश्यक पहल थाल्ने मन्त्री पोखरेलले प्रतिबद्धता जनाउनुभयो ।
“मधेश प्रदेशको शिक्षाको अवस्था कमजोर छ । यही अवस्थाको अध्ययन गर्न म मधेश प्रदेशको भ्रमणमा आएको हुँ,” मन्त्री पोखरेलले भन्नुभयो ।
उहाँले अहिले देशको शिक्षा प्रणालीमा देखिएका समस्या पहिचान गरी शिक्षक, अभिभावक र विद्यार्थीसँग अन्तरसंवाद गरेर समाधान खोज्ने प्रयास भइरहेको बताउनुभयो । शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन नयाँ शिक्षा ऐन ल्याउने तयारीमा सरकार रहेको उहाँको भनाइ थियो ।
पुराना विद्यालयलाई प्रविधिमैत्री बनाउने योजना
मन्त्री पोखरेलले लहान नगरपालिका–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको समेत निरीक्षण गर्नुभएको छ ।
वि.सं. २००४ सालमा स्थापना भएको उक्त विद्यालयको ऐतिहासिक पहिचान र पुरानो शैक्षिक प्रतिष्ठा फर्काउन आवश्यक रहेको मन्त्री पोखरेलले बताउनुभयो । बदलिँदो समयअनुसार विद्यालयलाई विज्ञान, प्रविधि तथा आधुनिक शैक्षिक सुविधासहितको नमुना संस्थाका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद बब्लु गुप्ताको पहलमा यस क्षेत्रका पुराना विद्यालयहरूको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्ने योजना अघि बढाइएको मन्त्री पोखरेलले बताउनुभयो ।
चुनावी वाचा पूरा गर्ने अभियानमा सांसद गुप्ता
सिरहा–१ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले निर्वाचनका क्रममा आफूले गरेको शैक्षिक सुधारसम्बन्धी प्रतिबद्धता पूरा गर्न निरन्तर पहल गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार सिरहा–१ को दक्षिणी भेगमा रहेका पुराना तथा महत्वपूर्ण विद्यालयहरूलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार, प्रविधि र गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने योजना छ ।
भगवानपुर गाउँपालिकामा रहेको हनुमान शारदा माध्यमिक विद्यालय इनर्वा तथा लहान नगरपालिका–१४ स्थित श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरलाई स्तरीय बनाउने अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।
“यी दुई विद्यालय मात्रै होइन, आगामी दिनमा सखुवानन्कारकटि र लक्ष्मीपुर पतारी क्षेत्रमा समेत शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने योजना छ,” सांसद गुप्ताले भन्नुभयो ।
मधेशका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने लक्ष्य
मधेशका धेरै विद्यार्थी अझै पनि गुणस्तरीय शिक्षा र आवश्यक शैक्षिक पूर्वाधारबाट वञ्चित रहेको भन्दै सांसद गुप्ताले ग्रामीण तथा पिछडिएका क्षेत्रका विद्यालयलाई प्राथमिकतामा राखेर सुधारको काम गर्नुपर्ने बताउनुभयो ।
विद्यालयमा पर्याप्त भवन, प्रयोगशाला, प्रविधि, दक्ष जनशक्ति तथा आधुनिक सिकाइ वातावरण निर्माण गर्न सके मात्रै मधेशका विद्यार्थीलाई अन्य प्रदेशका विद्यार्थीसरह प्रतिस्पर्धी बनाउन सकिने उहाँको भनाइ छ ।
कृषि तथा इन्जिनियरिङजस्ता प्राविधिक विषयको अध्ययनका लागि विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले लहानमै उच्च शिक्षाका थप अवसर सिर्जना गर्न खोजिएको सांसद गुप्ताले बताउनुभयो ।
मन्त्री पोखरेलको निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, क्याम्पस प्रशासन, शिक्षक तथा सरोकारवालाले मधेशको शिक्षा क्षेत्रमा देखिएका समस्या, पूर्वाधारको अवस्था र आगामी दिनमा गर्नुपर्ने सुधारबारे जानकारी गराएका थिए ।
मन्त्रालयले स्थलगत अध्ययन, सरोकारवालासँगको छलफल तथा उपलब्ध पूर्वाधारको मूल्यांकनपछि कृषि तथा इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।




















प्रतिक्रिया