धागो छिन्यो चर्खाको’ हिट भएपछि ‘झिँगे दाउ २’को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक…(हेर्नुस् भिडियो)


काठमाडौँ – यसपालिको हरितालिका तीजमा सर्वाधिक घन्किएका गीतमध्ये एक बनेको ‘धागो छिन्यो चर्खाको’ ले दर्शकको राम्रो साथ पाएपछि फिल्म ‘झिँगे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक गरिएको छ।

फिल्ममा समावेश ‘धागो छिन्यो चर्खाको’ गीतले युट्युबमा रिलिज भएको १२ दिनमै झन्डै ५० लाख भ्यूज पाएको छ। तीजको दिन सोमबार मात्रै गीतमा ५ लाखभन्दा बढी भ्यूज थपिएको थियो। गीतको लोकप्रियता टिकटक, रिल्स र शर्ट्समा समेत देखिएको छ, जहाँ हजारौँ सामग्री निर्माण भएका छन्।

तीज गीत हिट भएपछि निर्माण पक्षले मंगलबार ‘ए माया नजिकै सर’ सार्वजनिक गरेको हो। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारको स्वर छ। दशैंको माहोललाई समेटिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्ट देखिएका छन्।

संविधान दिवसको अवसर पारेर असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा र उत्तम केसीलगायत कलाकारको अभिनय छ।

सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो।