दुई वर्षको कठोर ट्रेनिङपछि ‘साम्राज्य’मा अमरप्रतापको इन्ट्री


काठमाडौँ । नेपाली फिल्मका उदयमान कलाकार अमरप्रताप श्रेष्ठ दुई वर्षको कठोर प्रशिक्षणपछि फिल्म ‘द राइज अफ साम्राज्य’ मा मुख्य अभिनेताका रूपमा भित्रिएका छन्।

केही नाटकसँगै फिल्म ‘मोदीबेनी’ मा अभिनय गरेका अमरप्रताप पछिल्लो दुई वर्षदेखि सार्वजनिक रूपमा खासै देखिएका थिएनन्। तर, यसबीच उनी अभिनयसँगै फिटनेस र एक्सनको विशेष प्रशिक्षणमा व्यस्त रहेको खुलेको छ। उनको यही दुई वर्षको मिहिनेत ‘द राइज अफ साम्राज्य’ का लागि केन्द्रित थियो।

प्रशिक्षण पूरा गरेसँगै निर्माण पक्षले मंगलबार उनलाई फिल्मको मुख्य अभिनेताका रूपमा सार्वजनिक गरेको हो। निर्देशक सौरभ चौधरीले सामाजिक सञ्जालमार्फत अमरप्रतापलाई दुई वर्षदेखि आफ्नो निगरानीमा एक्सन, फिटनेस र अभिनयको कठोर प्रशिक्षण दिइरहेको बताएका छन्।

फिल्मको छायांकन असोज ४ गते पूर्वको कोशी ब्यारेकबाट सुरु हुँदैछ। यसअघि नै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइली अनुबन्धित भइसकेका छन्। निर्माण पक्षले यही साता फिल्मका अर्का मुख्य अभिनेतालाई पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा पटकथा ‘कर्नाली ब्लुज’ का लेखक बुद्धिसागरले तयार पारेका हुन्।

फिल्ममा प्रवेश चौधरी र निला देव निर्माता छन् भने विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जनको छायांकन रहने फिल्ममा श्री श्रेष्ठले द्वन्द्व निर्देशन गर्नेछन्।

https://www.facebook.com/share/r/19fGUyeP3u/
https://www.facebook.com/share/r/19fGUyeP3u/