काठमाडौं – दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छ माया छपक्कै २’ यस वर्षको दसैंमा प्रदर्शनमा आउने भएको छ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले असोज ३१ गते अर्थात् फूलपातीका दिनबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो।
विगत केही वर्षदेखि दीपक–दीपाको समूहले दसैंलाई आफ्नो फिल्मको प्रदर्शन मिति बनाउँदै आएको छ। ‘छ माया छपक्कै २’ले पनि सोही परम्परालाई निरन्तरता दिएको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई देखाइएको छ। पोस्टरमा केकी र सनिशालाई गर्भवती अवस्थामा प्रस्तुत गरिएको छ भने उनीहरूको बीचमा रहेका दीपक भगवान् कृष्णको शैलीमा बाँसुरी बजाइरहेको देखिन्छन्।
पोस्टरको यो प्रस्तुतिले फिल्मको कथा पारिवारिक सम्बन्ध, वैवाहिक जीवन र त्यसमा आउने उतारचढाव वरिपरि केन्द्रित रहेको संकेत गरेको छ। यद्यपि फिल्मको वास्तविक कथावस्तुबारे निर्माण पक्षले धेरै कुरा सार्वजनिक गरेको छैन।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईसँगै निर्मल शर्मा ‘गैंडा’, कर्मा शाक्य, जितु नेपाल ‘मुन्द्रे’, रिहान गिरी, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।
त्यस्तै, केही दिनमा अमेरिकाबाट नेपाल फर्किन लागेका केदार घिमिरे ‘माग्ने बुढा’ पनि फिल्ममा रहने चर्चा छ।
फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेका हुन् भने निर्माता रोहित अधिकारी हुन्। रोहितले यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’, ‘फर्की फर्की’ र ‘माइतीघर’ लगायत फिल्म निर्माण गरिसकेका छन्। दीपक–दीपाको समूहसँग रोहितको यो दोस्रो सहकार्य हो।
निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको लेखन दीपकराज गिरीले गरेका हुन्। दसैंको फूलपातीबाट प्रदर्शनमा आउने भएकाले ‘छ माया छपक्कै २’ले यस वर्षको दसैंमा दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।



















प्रतिक्रिया