काठमाडौं – एक्सन स्टार निखिल उप्रेती अभिनित तथा निर्देशित चलचित्र ‘आचार्य’को ट्रेलर सार्वजनिक भएसँगै फिल्मी बजारमा यसको चर्चा चुलिएको छ। फरक शैलीको एक्सन, दमदार ब्याकग्राउन्ड स्कोर र आकर्षक दृश्य प्रस्तुतिले ट्रेलरलाई ‘पावर प्याक्ड’ बनाएको प्रतिक्रिया दर्शकबाट आइरहेको छ।
ट्रेलर सार्वजनिक भएको करिब २४ घण्टामै युट्युबमा ६ लाख ८३ हजारभन्दा बढी भ्युज पुगेको छ। ट्रेलर हेरेपछि दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया दिइरहेका छन्। धेरैले नेपाली एक्सन फिल्ममा यसअघि कमै देखिएको शैली ट्रेलरमा प्रस्तुत भएको भन्दै प्रशंसा गरेका छन्।
विशेषगरी निखिल उप्रेतीको एक्सन शैलीले दर्शकको ध्यान तानेको छ। ट्रेलरमा देखाइएको फाइट, स्टन्ट, लोकेसन र ब्याकग्राउन्ड स्कोरले नेपाली फिल्ममा पनि दक्षिण भारतीय चलचित्रको जस्तो एक्सनको स्केल प्रस्तुत गर्न सकिने सम्भावना देखाएको दर्शकहरूको प्रतिक्रिया छ।
कतिपय दर्शकले त ‘अब एक्सनका लागि साउथ इन्डियन फिल्म नै किन हेर्नुपर्यो?’ भन्नेसम्मको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा कलाकार, पत्रकार तथा दर्शकहरूले ट्रेलरको एक्सन र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्।
‘आचार्य’ निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा निखिल उप्रेतीसँगै सजिना श्रेष्ठ, प्रमोद अग्रहरी, ध्रुव कोइराला, सञ्जय गुप्ता, सरिता ज्ञवाली, सुरेश कोहलीलगायतको अभिनय रहेको छ। भारतीय कलाकार दीपराज राणा, रघु बाबु र रघु कारुमन्ची पनि चलचित्रमा देखिएका छन्। यही चलचित्रबाट पूर्णिका सिंजापतिले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्।
चलचित्रको लेखन निखिल उप्रेती स्वयंले गरेका हुन्। कृष्ण भट्टराई निर्माता तथा मिथिलेश तिवारी कार्यकारी निर्माता रहेका छन्।
चलचित्रमा मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत तथा कालाचरणको पार्श्व संगीत रहेको छ। त्यस्तै गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन्।
ट्रेलरले दर्शकमाझ उत्साह बढाएसँगै अब चलचित्रले हलमा कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ। खासगरी नेपाली फिल्ममा एक्सनको नयाँ स्वाद खोजिरहेका दर्शकका लागि ‘आचार्य’ प्रतीक्षित चलचित्र बनेको छ।



















प्रतिक्रिया