काठमाडौं – निर्माता तथा निर्देशक नारायण रायमाझीले नयाँ नेपाली फिल्म ‘बसन्ती’ निर्माणको घोषणा गरेका छन्। शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।
‘बसन्ती’ नाममा यसअघि पनि फिल्म निर्माण भइसकेको छ। २०५७ सालमा नीर शाहले यही नाममा फिल्म निर्देशन गरेका थिए। डायमण्ड समशेर राणाको उपन्यासमा आधारित उक्त फिल्म प्रदर्शनको २६ वर्षपछि रायमाझीले सोही नाममा नयाँ फिल्म बनाउन लागेका हुन्।
‘बसन्ती’ रायमाझीको चौथो निर्देशकीय फिल्म हो। यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए।
निर्माण पक्षका अनुसार फिल्मको काठमाडौं सेड्युलको छायांकन असोज ३ गतेदेखि सुरु हुनेछ। काठमाडौंसँगै पाल्पा, जनकपुर, बुटवल तथा भारतका विभिन्न स्थानमा फिल्म छायांकन गरिनेछ।

रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने फिल्मको कथावस्तु भने निर्माण पक्षले गोप्य राखेको छ। फिल्ममा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल र हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।
फिल्ममा रायमाझी स्वयंको लगानी रहनेछ भने रमेश बिजिले कथा लेखेका छन्। छायांकन शिव ढकाल, सम्पादन नहकुल खड्का तथा कोरियोग्राफी रोशन विश्वकर्मा र रविता मगरको रहनेछ।
फिल्मका गीतमा रमेश बिजि, लालगोपाल सुवेदी, बिबी अनुरागी र नारायण रायमाझीको शब्द तथा बिबी अनुरागी र नारायण रायमाझीको संगीत रहनेछ। श्यामश्वेत रसाइलीले साउन्ड डिजाइन तथा मिक्सिङ गर्नेछन्।
फिल्मको मुख्य सह-निर्देशकमा चन्द्रकुमार भट्टराई, एसोसिएट निर्देशकमा सुजता बस्याल राना तथा सह-निर्देशकमा यगेबहादुर राउत र सन्जीव चन्द रहेका छन्। निर्माण पक्षले फिल्मको कथावस्तुलाई हालसम्म गोप्य राखेकाले ‘बसन्ती’ले कस्तो कथा बोकेको छ भन्ने कौतुहलता बढेको छ।




















प्रतिक्रिया