‘कबड्डी ५’को टिजर सार्वजनिक, विपीनको इन्ट्रीदेखि एआई कनेक्सनसम्मले बढायो कौतुहलता


काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार युट्युबमार्फत करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा विजय बरालको पात्र बिके र एआईबीचको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। यस्तै, दयाहाङ राईको काजी तथा सिर्जना गुरुङको मैया पात्रको इन्ट्रीले पनि टिजरमा उत्सुकता थपेको छ।

टिजरमा विपीन कार्कीको इन्ट्री विशेष आकर्षण बनेको छ। उनको संवाद बोल्ने शैली र चरित्र प्रस्तुतिले टिजरलाई थप रोचक बनाएको देखिन्छ। अन्तिमतिर रिश्मा गुरुङको इन्ट्रीसँगै टिजर टुंगिन्छ।

टिजर हेर्दा ‘कबड्डी ४ः द फाइनल म्याच’ जहाँ टुंगिएको थियो, त्यहीँबाट पाँचौँ शृङ्खलाको कथा अघि बढाइएको संकेत देखिन्छ। निर्देशक गुरुङले पनि चलचित्रमा अघिल्लो शृङ्खलाकै कथालाई निरन्तरता दिइएको बताएका छन्।

विशेषगरी विजय बराल, विपीन कार्की र नयाँ मैया पात्रका रूपमा प्रस्तुत भएकी सिर्जना गुरुङको भूमिकाले दर्शकमाझ कौतुहलता बढाएको छ। मिरुना मगरको पात्रलाई भने निर्माण टिमले अहिलेसम्म गोप्य राखेको छ। अघिल्लो शृङ्खलामा मुख्य भूमिकामा रहेकी मिरुनालाई यसअघि सार्वजनिक पोस्टरमा समेत लुकाइएको थियो भने टिजरमा पनि उनको पात्रको खुलासा गरिएको छैन।

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्ने चलचित्रको विदेशी वितरण सेभेन सिज इन्टरनेसनलले गर्नेछ।

यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’का चारै शृङ्खलाले बक्सअफिसमा राम्रो व्यावसायिक सफलता हासिल गरेका छन्। त्यसैले पाँचौँ शृङ्खलाले अघिल्ला भागले बनाएको सफलताको विरासतलाई कसरी अगाडि बढाउँछ भन्ने चासो अहिलेबाटै बढेको छ।