‘आ बाट आमा २’को टिजर सार्वजनिक, आमाको महत्त्व दर्शाउँदै पल र विपनाको भावुक कथा


काठमाडौं – दसैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’को टिजर सार्वजनिक भएको छ। चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको चलचित्रको टिजरले आमाको महत्त्व र आमाप्रतिको सन्तानको प्रेमलाई मुख्य विषय बनाएको छ।

सार्वजनिक टिजरमा विपना थापा र पल शाहलाई आमा–छोराको भूमिकामा प्रस्तुत गरिएको छ। आमाले जीवनमा दिएको माया र साथलाई समयमै बुझ्नुपर्ने सन्देश टिजरले दिएको छ।

टिजरमा पल शाहको पात्र कृष्णको भावुक संवादले दर्शकको ध्यान खिच्छ ‘डर लाग्छ, एक दिन त यो धर्ती छाडेर मेरी आमा सधैंका लागि टाढा जानेछिन्।’

यस्तै, ‘आज व्यस्तताको बहाना बनाएर हामीसँग दुई शब्द बोल्ने फुर्सद पनि छैन’ भन्ने संवादमार्फत चलचित्रले आधुनिक जीवनशैलीमा व्यस्त बन्दै आफ्नै आमाबुवालाई समय दिन नसक्ने सन्तानको कथालाई प्रस्तुत गर्न खोजेको देखिन्छ।

टिजरमा पल शाह र मलिका महतबीचको प्रेम सम्बन्धलाई पनि स्थान दिइएको छ। पारिवारिक भावनासँगै प्रेमकथालाई समेत चलचित्रमा जोडिएको संकेत टिजरले गरेको छ।

आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विपना थापा, पल शाह, मलिका महत, स्व. प्रदीप रावत, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, गजित विष्ट, निकिता आचार्यलगायतका कलाकारको अभिनय छ। ‘मेरो डान्स युनिभर्स सिजन २’की विजेता रिश्ता गुरुङले यही चलचित्रबाट अभिनयमा डेब्यू गरेकी छन्।

चन्द्र पन्तको लेखन रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा बाबुल गिरीको संगीत छ। राम–लक्ष्मण सन्चुरीको द्वन्द्व निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी र राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ।

‘आ बाट आमा २’ गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’को सिक्वेल हो। पहिलो भागले नेपालमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ।

‘आ बाट आमा २’को टिजरले एउटै प्रश्न उठाउँछ आमा जीवित छँदै हामीले उनलाई कति समय दिएका छौँ? दशैंको अवसरमा प्रदर्शन हुने चलचित्रले पारिवारिक दर्शकलाई लक्षित गरेको देखिन्छ।