चार उच्च सैनिक अधिकृतले पाए बढुवाको दर्ज्यानी चिह्न


काठमाडौँ । बढुवा भएका चार जना उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

मङ्गलबार प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित कार्यक्रममा बढुवा भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सोबेन्द्र सिंह महत र प्रकाश थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

त्यस्तै, सहायकरथीमा बढुवा भएका मदन जङ्ग राणा तथा प्राविधिकतर्फ सहायकरथीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो।