काठमाडौं – प्रदर्शनको संघारमा रहेको फिल्म ‘जदौ’को सोमबार सार्वजनिक गरिएको एक्सटेन्डेड ट्रेलरले दर्शकको ध्यान तानेको छ। अन्तरजातीय प्रेमसम्बन्धले परिवार र समाजमा पार्ने प्रभाव, प्रेम प्राप्तिका लागि पात्रहरूले गर्ने संघर्ष तथा त्यसबाट उत्पन्न द्वन्द्वलाई प्रस्तुत गरिएको करिब साढे दुई मिनेट लामो ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
यही असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई अञ्जन शर्मा र काजी लिम्बूले निर्देशन गरेका हुन्। मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पल ठकुरी, विनोद न्यौपाने, खड्गबहादुर पुनलगायत कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरमा समावेश संवादहरू अहिले सामाजिक सञ्जालमा चर्चामा छन्।
ड्रेस सिलाउन आएकी नीतिलाई मुकुनले सोध्ने ‘म बमबहादुर, थर बर्देवा, गोत्र काश्यप… यहाँको नि?’ भन्ने प्रश्नमा नीतिले दिने ‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र ? भन्ने जवाफले फिल्मको मूल विषयवस्तुतर्फ संकेत गर्छ।
त्यस्तै, प्रभात पलले नीतिलाई ‘म बिना एक्लै बाँच्न सक्छौ?’ भनेर सोध्दा नीतिले आमा र दाइको अगाडि पोखेको पीडा ‘बाँच्न सिक्नुपर्छ, जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे…’ भन्ने संवादमा व्यक्त हुन्छ। प्रभातको पात्रले आक्रोश र पीडाबीच बोल्ने ‘हो, हो, हो… म दमई हो’ भन्ने संवादले पनि फिल्मले उठाएको जातीय विभेदको विषयलाई थप प्रस्ट पार्छ।
फिल्मका लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले नेपाली समाजमा आफूले देखेको र भोगेको जातीय भेदभाव तथा कुरीतिविरुद्ध फिल्ममार्फत आवाज उठाउने प्रयास गरिएको बताएका छन्। अर्का निर्देशक अञ्जन शर्माले ‘जदौ’ हेर्ने मात्र नभई महसुस र मनन गर्ने चलचित्र बनेको बताउँदै आएका छन्।
फिल्मको शीर्ष गीत ‘जदौ हजुर’ र रोमान्टिक गीत ‘तिमीसँग नबोली…’ चर्चामा रहिरहेका बेला ट्रेलरमा समावेश प्रीति कौरको ‘रागले पोल्यो जातको, चलेन पानी यी हातको…’ गीतले पनि दर्शकको ध्यान खिचेको छ। दर्शकहरूले उक्त गीत पूर्ण रूपमा सुन्न चाहेको प्रतिक्रिया सामाजिक सञ्जालमा दिएका छन्।
प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्र बनाएको ‘जदौ’ले नेपाली समाजमा विद्यमान जातीय विभेद र अन्तरजातीय प्रेमको कथालाई पर्दामा कसरी प्रस्तुत गर्छ भन्ने चासो बढेको छ।
शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मका निर्मातामा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल छन्। राजाराम सुवेदी, दीपक पोखरेल, नारायण शास्त्री र सुमित्रा देवकोटा सहनिर्माता तथा विमला भण्डारी कन्सेप्ट डिजाइनर हुन्। फिल्मलाई एनसीजीएनले वितरण गर्दैछ।



















प्रतिक्रिया