भारी वर्षाको जोखिम बढेपछि ट्रेकिङ र आरोहणमा सतर्क रहन बोर्डको अपिल


काठमाडौँ । देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अन्य प्रदेशका विभिन्न क्षेत्रमा समेत भारी वर्षाको पूर्वानुमान गरिएकाले जोखिम हेरेर आवश्यक परे पर्यटकीय गतिविधि स्थगित गर्न बोर्डले अपिल गरेको हो।

पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले हाल पर्यटकीय मौसम भएकाले विभिन्न क्षेत्रमा पदयात्रा, हिमाल आरोहण, मेला तथा महोत्सव भइरहेकाले मौसमको जोखिमलाई गम्भीर रूपमा लिन आग्रह गरे।

उनका अनुसार भारी वर्षा, हावाहुरी र चट्याङका साथै बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम हुनसक्छ। त्यसैले पर्यटक तथा पर्यटन व्यवसायीले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्नुपर्ने बोर्डले जनाएको छ।

बोर्डले जोखिमयुक्त मौसममा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित पर्यटन व्यवसायीसँग समन्वय गरेर मात्रै यात्राको तालिका तय गर्न पदयात्री तथा पर्वतारोहीलाई आग्रह गरेको छ।