काठमाडौँ । सरकारले असोज महिनाको पहिलो सातामै संघीय संसद्मा १० वटा विधेयक दर्ता गरेको छ। संसद्को दोस्रो अधिवेशन चलिरहेका बेला दर्ता गरिएका यी विधेयक स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कानुनी सहायता तथा पूर्वाधार विकाससँग सम्बन्धित छन्।
संघीय संसद् सचिवालयका अनुसार असोज १ देखि ६ गतेसम्म विभिन्न मन्त्रालयले ती विधेयक दर्ता गराएका हुन्।
असोज ६ गते ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ दर्ता भएको छ। त्यस्तै असोज ५ गते ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ दर्ता भएका छन्।
यी स्वास्थ्यसम्बन्धी चारवटै विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संसद्मा दर्ता गराएको हो।
त्यस्तै ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पनि संसद्मा दर्ता भएका छन्। असोज ६ गते ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ दर्ता भएको छ।
असोज २ गते ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक’ र असोज १ गते ‘फोहोरमैला व्यवस्थापन विधेयक’ दर्ता भएका छन्। यी विधेयक अब संसद्को प्रक्रियाअनुसार छलफल तथा अघि बढ्नेछन्।



















प्रतिक्रिया