काठमाडौं – अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि दसैंको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको फिल्म अब कात्तिक २६ गते देखि प्रदर्शनमा आउने भएको हो ।
निर्माण पक्षले बुधबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । दसैंमा एकैपटक धेरै फिल्म प्रदर्शनमा आउने भएपछि पर्दा बाँडफाँडमा समस्या हुन सक्ने वितरक तथा प्रदर्शकको सुझावलाई मध्यनजर गर्दै प्रदर्शन मिति सारिएको निर्देशक भुवन केसीले बताएका छन् ।
भुवनले भनेका छन्, ‘यसअघि दसैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैँमा अन्य चार फिल्म पनि प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ ।’
सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन् । अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ भने पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशको टहटह जूनले फिल्मको प्रेमकथालाई संकेत गरेको छ । पोस्टरले फिल्म ग्रामीण परिवेशमा आधारित प्रेमकथा रहेको झल्काउँछ ।
सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह–निर्मातामा छन् । सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर सिवाकोटीलगायत कलाकारको अभिनय छ ।



















प्रतिक्रिया