उद्धारका लागि सम्पूर्ण शक्ति परिचालन गरेका छौँ : मन्त्री


काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सरकारले विपत्तिमा परेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले हार नमान्ने भन्दै सम्भावनाको अन्तिम बिन्दुसम्म खोज तथा उद्धार अभियान जारी राख्ने बताए।

उनले अहिले सरकारको पहिलो प्राथमिकता खोज तथा उद्धारलाई निरन्तरता दिनु, घाइतेको उपचार गर्नु, विस्थापित परिवारको पुनर्स्थापना गर्नु तथा क्षतिग्रस्त विद्युत्, सडक र पुललगायत पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु रहेको बताए।

‘हामीले हार मानेका छैनौँ। सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ,’ उनले भने।

मन्त्री श्रेष्ठले विपत्तिबाट प्रभावित नागरिकको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी भएको बताए।

कठिन समयमा सरकार नागरिकसँगै रहेको उल्लेख गर्दै उनले पीडाको घडीमा निराश नहुन आग्रह गरे। ‘हामी शोक र पीडामा छौँ, तर निराशामा छैनौँ। आँखा रसाएका छन्, तर आशा मरेको छैन,’ उनले भने।

उनले विपत्तिपछि नागरिकको भविष्य सुरक्षित बनाउन राज्यले पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गर्ने बताए। भविष्यमा यस्ता विपत्तिबाट नागरिकले ठूलो क्षति व्यहोर्न नपरोस् भन्ने उद्देश्यका साथ सरकार अघि बढ्नुपर्ने उनको भनाइ थियो।