ऊर्जा क्षेत्र पुनर्निर्माणमा झण्डै ४ खर्ब खर्च हुने अनुमान


काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त ऊर्जा क्षेत्रका संरचनाको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा रहेका नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित ११ वटा विद्युत् उत्पादन केन्द्र बाढीका कारण बन्द भएको जानकारी दिए ।

बाढीका कारण सञ्चालनमा रहेका ७ जलविद्युत् आयोजना र एउटा सोलार आयोजनाबाट करिब २७५ मेगावाट क्षति भएको छ । त्यस्तै, क्षति नभए पनि प्रसारण लाइनमा समस्या आएपछि १३५ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना बन्द छन् । यससँगै कुल ४१० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको मन्त्री श्रेष्ठले बताए ।

बाढीले निर्माणाधीन ५०८ मेगावाट क्षमताका ६ जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ । प्रसारण प्रणालीअन्तर्गत त्रिशूलीस्थित २२० केभी त्रिशूली–थ्री बी हब सबस्टेसनमा पूर्ण क्षति पुगेको छ भने मातातीर्थ–चिलिमे २२० केभी हब पनि अवरुद्ध भएको छ ।

त्यसैगरी विभिन्न प्रसारण लाइन, चिलिमे तथा माथिल्लो त्रिशूली थ्री ए स्विच यार्ड, देवीघाट स्विच यार्ड, वितरण लाइन र पोललगायतका संरचनामा पनि ठूलो क्षति पुगेको सरकारले जनाएको छ ।

मन्त्री श्रेष्ठका अनुसार बाढीबाट घरायसी तथा सामुदायिक प्रयोगमा रहेका नवीकरणीय ऊर्जा प्रविधिमा समेत क्षति पुगेको छ । समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि आवश्यक रकमको प्रारम्भिक मूल्याङ्कन ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ रहेको छ ।