काठमाडौं । यस वर्षको शक्तिशाली एल निनोका कारण बढ्ने अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब ४ लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने एक अध्ययनले चेतावनी दिएको छ।
युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्म एल निनोका कारण हुने अतिरिक्त गर्मीजन्य मृत्युको अनुमान गरेका हुन्। अध्ययनअनुसार जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ्दो ऊर्जा लागतको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढी पर्न सक्छ।
अध्ययनका सहसंस्थापक माइकल ग्रीनस्टोनका अनुसार एल निनो फेब्रुअरीसम्म अन्त्य हुने अपेक्षा गरिए पनि त्यसबाट सिर्जित गर्मीको प्रभाव त्यसपछि पनि कायम रहन सक्छ। पहिल्यै उच्च तापक्रम रहेका क्षेत्रमा थप गर्मी बढ्दा स्वास्थ्य जोखिम झन् उच्च हुने उनको भनाइ छ।
अनुसन्धानकर्ताले विश्वका २४ हजारभन्दा बढी क्षेत्रमा उच्च तापक्रमले मृत्युदरमा पार्ने प्रभावसम्बन्धी तथ्याङ्कलाई मौसमी तापक्रम पूर्वानुमानसँग तुलना गरेका थिए।
अध्ययनअनुसार अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढी प्रभावित हुनसक्ने देखिएको छ। त्यहाँ करिब ६६ हजार ८ सय अतिरिक्त मृत्यु हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी १९ हजार ४ सय, इन्डोनेसियामा १९ हजार ३ सय, भारतमा १५ हजार ८ सय र ब्राजिलमा १३ हजार ३ सय अतिरिक्त मृत्यु हुनसक्ने अनुमान छ।
अत्यधिक गर्मीबाट हुने जोखिम घटाउन गर्मीसम्बन्धी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन, शीतलन केन्द्र स्थापना गर्न तथा पानी र स्वास्थ्य सेवामा पहुँच बढाउन अनुसन्धानकर्ताले सुझाव दिएका छन्। बाहिरी क्षेत्रमा काम गर्ने श्रमिक, वृद्धवृद्धा र अन्य जोखिममा रहेका समूहलाई लक्षित सहायता उपलब्ध गराउनुपर्ने उनीहरूको भनाइ छ।
अत्यधिक गर्मी आउनुअघि नै आवश्यक स्रोत परिचालन गर्न अग्रिम वित्तीय तयारी गर्नसमेत अनुसन्धानकर्ताले सुझाव दिएका छन्।
एनआरडीसी इन्डियाका ताप विशेषज्ञ अभियनन्त तिवारीले अध्ययनलाई त्रास फैलाउनेभन्दा तत्काल तयारी र प्रभावकारी कार्यान्वयनका लागि सचेत गराउने माध्यमका रूपमा लिनुपर्ने बताएका छन्।
एल निनो प्राकृतिक जलवायु प्रणाली भए पनि यस वर्षको शक्तिशाली एल निनो पहिले नै तातिरहेको पृथ्वीमा देखिएको छ। क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसार यस अवधिमा विश्वव्यापी भूमि तापक्रम सामान्य वर्षको तुलनामा करिब १.२ डिग्री सेल्सियस बढी हुनसक्छ भने गर्मीका दिन ४४ प्रतिशतसम्म बढ्न सक्छन्।
अनुसन्धानकर्ताका अनुसार एल निनोबाट देखिन सक्ने यस्तो गर्मीले आगामी दशकमा जलवायु परिवर्तनका कारण देखिन सक्ने गर्मीको अवस्थाको पूर्वसङ्केतसमेत दिन सक्छ।



















प्रतिक्रिया