भारी वर्षाको जोखिमपछि विद्यालय बिदा गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको आग्रह


काठमाडौं । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक संस्थाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमानअनुसार आगामी दिनमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको मन्त्रालयले जनाएको छ।

सम्भावित बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा आउन सक्ने अवरोधलाई मध्यनजर गर्दै असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने विश्वविद्यालय तथा अन्य परीक्षाहरू आवश्यकताअनुसार स्थगित गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

त्यस्तै, विपद्को अवस्था सिर्जना भएमा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले अभिभावकलाई समेत बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन विशेष आग्रह गरेको छ।