नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध अख्तियारको मुद्दा


काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले रौतहटको माधव नारायण नगरपालिका नगरकार्यपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटअन्तर्गतको स्थानीय ट्रस्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिने क्रममा भारतको पटनास्थित ‘बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल’बाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ।

नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा यादवविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।