काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध छठपछि देशव्यापी आन्दोलन गर्ने बताएका छन्।
एमाले केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले दशैं, तिहार र छठपछि मधेशसहित देशका विभिन्न भूभागमा एमाले लगायत अन्य दलको सहभागितामा सशक्त आन्दोलन अघि बढ्ने दाबी गरे।
उनले उक्त आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकार पराजित हुने दाबीसमेत गरे। बस्नेतले भने, ‘दशैं, तिहार र छठपछि मधेशदेखि लिएर देशका सबै भूभागमा एमाले लगायतका अन्य सबै दलहरू सम्मिलित भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ।’
जेनजी आन्दोलनपछिका गतिविधि असंवैधानिक भएको दाबी गर्दै बस्नेतले चुनावअघिकै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए।
उनले सुशीला कार्की नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया पनि अवैधानिक भएको दाबी गरे। ‘सुशीला कार्की नेतृत्वको सरकार गठनको प्रक्रिया पनि अवैधानिक छ। त्यसपछाडि भएका गतिविधिलगायत अन्य प्रश्न भएकाले संसद् पुनर्स्थापना हुनुपर्छ,’ उनले भने।
एमाले केन्द्रीय कमिटी बैठकले सबै निर्णय सर्वसम्मत रूपमा गरेको बस्नेतले बताए। पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि चौतर्फी हमला भएको तथा पार्टी विभाजन र अध्यक्षलाई पदबाट हटाउने प्रयासबारे बैठकले त्यस्ता अपेक्षालाई निराश बनाएको उनको दाबी थियो।


















प्रतिक्रिया