भारी वर्षाले राजमार्ग रोकिए पनि खाद्यान्न अभाव हुन नदिने सरकारको तयारी


काठमाडौँ । भारी वर्षा र आसन्न चाडपर्वलाई ध्यानमा राख्दै सरकारले खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तयारी थालेको छ।

असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले आपूर्ति व्यवस्था चुस्त राखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सम्भावित प्राकृतिक विपद् तथा चाडपर्वलाई लक्षित गरी खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आवश्यक मौज्दात कायम रहेको जनाएको हो। आपूर्ति शृङ्खला सहज बनाउन सरकारी तथा निजी क्षेत्रका सम्बन्धित निकाय र व्यवसायीसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय खाद्य सुरक्षा भण्डार तथा सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त खाद्यान्न मौज्दात रहेको छ। बजारमा समेत खाद्यान्नलगायत उपभोग्य वस्तुको बिक्री–वितरण सामान्य रूपमा भइरहेको जनाइएको छ।

बाढी वा पहिरोका कारण प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भए सडक विभाग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी निरन्तर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, उपभोग्य वस्तु सुपथ मूल्यमा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको भन्दै मन्त्रालयले अनावश्यक सञ्चय तथा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

विपद् वा चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने तथा सामान लुकाउनेजस्ता गतिविधि गरे कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएमा मन्त्रालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।