काठमाडौं – कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीचको सहकार्यलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले एआईमा आधारित डिजिटल प्लेटफर्म ‘इनमार्क’ (Inmark.ai) औपचारिक रूपमा सञ्चालनमा आएको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको इनमार्कलाई क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङका लागि ‘अल-इन-वन अपरेटिङ सिस्टम’का रूपमा अघि सारिएको छ। कम्पनीका अनुसार प्लेटफर्मले डेटा र एआई प्रविधिको प्रयोग गर्दै ब्रान्ड र कन्टेन्ट क्रिएटरबीचको सहकार्यलाई स्वचालित र प्रभावकारी बनाउनेछ।
हाल क्रिएटरहरूले ब्रान्ड सहकार्यका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष सम्पर्क गर्ने, व्यक्तिगत पहुँच खोज्ने तथा पारिश्रमिकका विषयमा मोलमोलाइ गर्नुपर्ने अवस्था रहेको छ। त्यस्तै, ब्रान्डहरूलाई पनि आफ्ना उत्पादन र लक्षित दर्शकसँग मेल खाने क्रिएटर पहिचान गर्न तथा धेरै क्रिएटरसँग छुट्टाछुट्टै समन्वय गर्न कठिन हुने गरेको कम्पनीको भनाइ छ।
इनमार्कमा आबद्ध भएपछि क्रिएटरको कन्टेन्ट शैली, विगतका क्याम्पेन र दर्शकको विवरण विश्लेषण गरी एआईले उपयुक्त ब्रान्डसँग जोड्न सहयोग गर्ने बताइएको छ। प्लेटफर्ममा स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ र स्वचालित रिपोर्टिङजस्ता सुविधा पनि समावेश गरिएको छ।
त्यस्तै, मूल्य निर्धारण, सम्झौताका सर्त तथा कन्टेन्टको बौद्धिक स्वामित्वसम्बन्धी व्यवस्थापन पनि प्लेटफर्ममार्फत गर्न सकिने कम्पनीले जनाएको छ।
ब्रान्ड तथा मार्केटिङ एजेन्सीका लागि पनि इनमार्कले विभिन्न एआई सुविधा उपलब्ध गराउनेछ। ब्रान्डले भिडियो वा भ्वाइस नोटमार्फत आफ्नो आवश्यकताबारे जानकारी दिएपछि एआईले क्याम्पेन ब्रिफ र ह्यासट्याग तयार पार्ने व्यवस्था रहेको जनाइएको छ।
प्लेटफर्मको ‘एआई फिट स्कोर’का आधारमा ब्रान्डको बजेट तथा लक्षित दर्शकसँग मेल खाने क्रिएटर सिफारिस गरिनेछ। साथै, ठूलो संख्यामा क्रिएटरले तयार पारेका सामग्री ब्रिफ र स्क्रिप्टअनुसार छन् वा छैनन् भन्ने विषयमा एआईमार्फत एकैपटक अडिट गर्न सकिने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार यसले ब्रान्डलाई सही लक्षित दर्शकसम्म पुग्न तथा डिजिटल क्याम्पेनको लगानीबाट प्राप्त हुने प्रतिफल (ROI) व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ।
क्रिएटर र ब्रान्ड दुवैले सामाजिक सञ्जाल अकाउन्टमार्फत ‘वान-क्लिक’ लगइन गरी inmark.ai मार्फत प्लेटफर्मको सेवा प्रयोग गर्न सक्नेछन्।



















प्रतिक्रिया