प्रतिलिपि अधिकारको दुरुपयोग रोक्न स्वतन्त्र संगीत समाजको आग्रह


काठमाडौं – नेपाली गीत–संगीत क्षेत्रमा प्रतिलिपि अधिकार हस्तान्तरण र करारको पालना सम्बन्धमा देखिएका विवादप्रति स्वतन्त्र संगीत समाज नेपालले ध्यानाकर्षण जनाएको छ।

समाजले कानुनी रूपमा हस्तान्तरण भइसकेका अधिकारमाथि पुनः दाबी गर्ने तथा एकपक्षीय स्वघोषणा वा दाबीका आधारमा प्रतिलिपि अधिकारसम्बन्धी प्रमाण प्रयोग गर्ने प्रवृत्तिले संगीत क्षेत्रमा अन्योल सिर्जना गर्न सक्ने जनाएको हो।

काठमाडौंमा जारी विज्ञप्तिमा समाजले स्रष्टा, उत्पादक, प्रकाशक तथा अन्य अधिकारधनीबीच भएका कानुनी सम्झौता र अधिकार हस्तान्तरणको सम्मान तथा प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।

गीत तथा संगीतको सिर्जना, उत्पादन, प्रकाशन, वितरण र व्यावसायिक प्रयोगका क्रममा लिखित सम्झौता तथा सहमतिमार्फत अधिकार हस्तान्तरण हुने भए पनि हस्तान्तरण भइसकेका अधिकारमाथि पुनः दाबी गर्ने वा पूर्वसम्झौतासँग बाझिने गतिविधि गर्न नहुने समाजको भनाइ छ।

समाजले एकपक्षीय स्वघोषणा, निवेदन वा दाबीका आधारमा प्राप्त प्रमाणलाई पूर्वसम्झौता तथा अन्य कानुनी कागजातको विपरीत प्रयोग गर्न नहुने स्पष्ट पारेको छ। प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट जारी प्रमाण वा अभिलेखलाई अधिकारको अन्तिम तथा निर्विवाद प्रमाणका रूपमा प्रस्तुत गर्दै अन्य अधिकारधनीको कानुनी तथा करारजन्य अधिकार कमजोर पार्न नहुने समाजको धारणा छ।

समाजले स्रष्टाको सिर्जनात्मक अधिकारसँगै उत्पादक तथा प्रकाशकको वैधानिक र करारजन्य अधिकारको समेत समान रूपमा संरक्षण हुनुपर्ने बताएको छ।

अधिकारसम्बन्धी विवाद सार्वजनिक आरोप–प्रत्यारोप वा एकपक्षीय घोषणाबाट नभई सम्बन्धित कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्ने समाजको आग्रह छ।

समाजका अध्यक्ष शम्भेरबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कुनै व्यक्ति वा संस्थालाई दोषारोपण गर्नु उद्देश्य नभएको भन्दै प्रतिलिपि अधिकार हस्तान्तरण, करारको पालना र अधिकारसम्बन्धी प्रमाणको उचित प्रयोगबारे सार्वजनिक ध्यानाकर्षण गराइएको उल्लेख छ।