‘झिँगेदाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत सार्वजनिक


काठमाडौं – असोज २ गतेदेखि प्रदर्शनमा रहेको फिल्म ‘झिँगेदाउ २’ले रिलिजको एक सातापछि नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ।

मर्मस्पर्शी भाव बोकेको गीतमा कुशल बेलबासेको स्वर तथा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। गीतले आमाको निस्वार्थ माया र सन्तानप्रतिको समर्पणलाई प्रस्तुत गर्दै आमालाई भगवानको जिउँदो अवतारका रूपमा चित्रण गरेको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि पहिलो साता अपेक्षाअनुसारको व्यापार गर्न सकेको छैन। यद्यपि, दर्शकको सकारात्मक प्रतिक्रिया र ‘वर्ड अफ माउथ’का कारण आगामी दिनमा व्यापार बढ्नेमा निर्माण पक्ष आशावादी देखिएको छ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा र उत्तम केसीलगायतका कलाकारको अभिनय छ।

सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।

फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको रहेको छ।