काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गरेको सम्बोधन अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र डिजिटल प्लेटफर्ममा चर्चाको विषय बनेको छ।
महासभाको सामान्य बहसमा सम्बोधन गर्दै शाहले जलवायु न्याय, विश्व व्यवस्थामा देखिएको असमानता र नेपालजस्ता विकासशील मुलुकले भोगिरहेका जलवायुजन्य क्षतिका विषयलाई प्रमुखताका साथ उठाएका थिए। विशेषगरी नेपालमा हालै आएको बाढीपहिरोलाई जलवायु परिवर्तनसँग जोड्दै उनले प्रभावित मुलुकलाई ऋणको थप भार होइन, पर्याप्त अन्तर्राष्ट्रिय सहयोग र अनुदान आवश्यक रहेको धारणा राखेका थिए।
शाहको सम्बोधनले डिजिटल प्लेटफर्ममा समेत उल्लेख्य दर्शक तानेको बताइएको छ। राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएका विश्व नेताहरूका सम्बोधनमध्ये उनको भिडियोले उच्च भ्यूज पाएको छ। उपलब्ध विवरणअनुसार शाहको सम्बोधनले ४ लाख ७० हजारभन्दा बढी भ्यूज र ४ हजार ६ सयभन्दा बढी कमेन्ट प्राप्त गरेको छ।
त्यसपछि इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सम्बोधन करिब ४ लाख १३ हजार भ्यूजसहित दोस्रो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधन करिब ३ लाख ८३ हजार भ्यूजसहित तेस्रो स्थानमा रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि शाहले उठाएका विषयलाई आ–आफ्नै कोणबाट समाचारमा समेटेका छन्। एसोसिएटेड प्रेस (एपी) र बेलायतको ‘द गार्डियन’ले नेपालमा आएको बाढी तथा त्यसले देखाएको जलवायु संकटलाई प्रमुख विषय बनाएका छन्।
समाचार संस्था रोयटर्सले भने विपत्तिपछिको पुनर्निर्माणका लागि नेपालले थप ऋण लिनुभन्दा अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग पाउनुपर्ने शाहको मागलाई प्रमुखताका साथ प्रस्तुत गरेको छ।
शाहले नेपाल, भारत र चीनबीच सहकार्य गर्दै ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्ने प्रस्तावसमेत महासभामा राखेका थिए। हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जोखिम न्यूनीकरणका लागि तीन देशबीच सहकार्य आवश्यक रहेको उनको धारणा थियो। भारतीय सञ्चारमाध्यम ‘द इन्डियन एक्सप्रेस’ले पनि यस प्रस्तावलाई समाचारको विषय बनाएको छ।
त्यस्तै, एनडीटीभीले विश्व व्यवस्थाको असमानतामाथि शाहले गरेको टिप्पणीलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ। युद्धका लागि आवश्यक हतियार सहजै उपलब्ध हुने तर किसानले आवश्यक समयमा मल र इन्धनसमेत पाउन नसक्ने अवस्थामाथि शाहले प्रश्न उठाएका थिए।
एनडीटीभी प्रोफिटले यस वर्ष महासभामा प्रस्तुत प्रभावशाली भाषणहरूको सूचीमा समेत शाहको सम्बोधनलाई समेटेको छ। उक्त सूचीमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज र इरानका राष्ट्रपति मसुद पेजेस्कियानका सम्बोधन पनि समावेश छन्।
यससँगै, बालेनको महासभा सम्बोधन नेपालभित्रको राजनीतिक बहसमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक–डिजिटल प्लेटफर्ममा समेत उल्लेख्य चासोको विषय बनेको देखिएको छ।



















प्रतिक्रिया