सिक्किम। सिक्किमकी स्रष्टा रमा कोइराला ‘अद्रिजा’को गीति संग्रह ‘शब्दका सरगम’ विमोचन गरिएको छ।
दक्षिण सिक्किमको नाम्चीस्थित नेपाली पुस्तक संग्रहालयको दोस्रो वार्षिक स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो।
गान्तोकस्थित रानीपुल (ढकाल गाउँ) निवासी कोइरालाका यसअघि ‘प्रेमिल भावना’ र ‘प्रतिबोधन’ गरी दुई कविता संग्रह प्रकाशित भइसकेका छन्।
‘शब्दका सरगम’मा विभिन्न भाव र विषय समेटिएका ७६ वटा गीत संग्रहित छन्। संग्रहमा प्रेम, विरह, मानवीय सम्बन्ध, सामाजिक विकृति, परदेशको पीडा, मातृवात्सल्य तथा प्रकृतिका विषयलाई गीतमार्फत प्रस्तुत गरिएको छ।
कृतिमा मातृभूमि र कर्मभूमिका अनुभव तथा भोगाइलाई जनजिब्रोमा प्रचलित ठेट नेपाली पदावलीमार्फत सरल शैलीमा अभिव्यक्त गरिएको छ।
विमोचन समारोहमा सहभागी साहित्यकार, समालोचक तथा भाषा–साहित्यका अनुरागीहरूले ‘शब्दका सरगम’ले नेपाली गीति साहित्यमा थप योगदान पुर्याउने बताएका थिए।
नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुंगेलले कोइरालाको यो कृति सिक्किमेली नेपाली साहित्यसँगै समग्र नेपाली वाङ्मयका लागि उल्लेखनीय उपलब्धि भएको बताएका छन्।

















प्रतिक्रिया