महाकाली नदीमा बहाव तीव्र, आवागमन प्रभावित


महेन्द्रनगर । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आज गरिएको मापनमा महाकाली नदीमा पानीको बहाव १ लाख ७५ हजार ७०० क्युसेक पुगेको छ।

पानीको बहाव बढेपछि भारतीय पक्षले शारदा ब्यारेज (बनवासा पुल) मा चारपाङ्ग्रे तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। हाल मोटरसाइकललगायत साना सवारीसाधनलाई मात्रै पुलबाट आवतजावत गर्न दिइएको छ।

करिब एक सय वर्ष पुरानो बनवासा पुलमा महाकालीको बहाव १ लाख क्युसेक नाघेपछि भारतीय पक्षले ठूला सवारीसाधनको आवागमन रोक्दै आएको प्रहरीले जनाएको छ। अहिले पुलको दुवैतर्फ ठूला सवारीसाधन रोकिएका छन्।

दार्चुला, बैतडी र डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारतीय क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण महाकालीमा पानीको बहाव बढेको बताइएको छ। नदीको सतह निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

यसैबीच, भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेपछि कञ्चनपुरबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधनमा समेत रोक लगाइएको छ। महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टका अनुसार शुक्रबारदेखि महेन्द्रनगर र बेलौरीबाट काठमाडौँ, पोखरालगायत गन्तव्यका लागि लामो दूरीका यात्रुवाहक बस सञ्चालन भएका छैनन्।

धनगढी, महेन्द्रनगरलगायत छोटो दूरीका सवारीसाधन भने सञ्चालनमा छन्। पहाडी जिल्लातर्फ जाने सवारीसाधनसमेत तत्काल नपठाइएको भट्टले जानकारी दिए।