बाढीले भारतमा बढायो संकट, यूपीमा ६२ जनाको मृ-त्यु; केदारनाथ यात्रा रोकियो


नयाँ दिल्ली । भारतका विभिन्न राज्यमा लगातारको भारी वर्षा र बाढीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढमा वर्षासँगै आएको बाढी र पहिरोले मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

उत्तराखण्डका सबै जिल्लामा पछिल्लो समय भारी वर्षा भइरहेको छ। ऋषिकेशमा गंगा नदीले चेतावनी तह पार गरेपछि प्रशासनले नदीका घाटमा जान प्रतिबन्ध लगाएको छ।

रुद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा पहिरो खसेपछि करिब ४ हजार श्रद्धालु बाटोमै अलपत्र परेका छन्। मौसम थप प्रतिकूल बनेपछि प्रशासनले आजका लागि केदारनाथ यात्रा स्थगित गरेको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गरिएको जनाइएको छ।

उत्तर प्रदेशको राजधानी लखनऊसहित कानपुर, उन्नाव, बाराबंकी, अयोध्या र जौनपुरलगायत ४५ सहरमा पछिल्लो ७० घण्टादेखि निरन्तर वर्षा भइरहेको छ। ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाहुरी र वर्षाका कारण पछिल्ला दुई दिनमा ६२ जनाको मृत्यु भएको जनाइएको छ।

राज्यका २२ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। लगातारको वर्षाका कारण विभिन्न स्थानमा जनजीवन, यातायात तथा अन्य पूर्वाधार प्रभावित भएका छन्।

नेपालमा भएको वर्षाको असर बिहारसम्म

बिहारमा चक्रवात ‘अर्नब’को प्रभाव केही कमजोर भए पनि पछिल्लो ७२ घण्टादेखि निरन्तर वर्षा भइरहेको छ। नेपालका तराई क्षेत्रमा भएको अत्यधिक वर्षाका कारण गण्डक र कोशी नदीमा आएको बाढीले बिहारका विभिन्न जिल्लासमेत प्रभावित भएका छन्।

बाढीका कारण बिहारका १७ जिल्लाका करिब ६ हजार गाउँ प्रभावित भएको जनाइएको छ। पाँच सयभन्दा बढी घर बाढीको पानीले घेरिएका छन् भने सुपौल जिल्लाका मात्रै करिब ५० गाउँ पूर्ण रूपमा जलमग्न भएको बताइएको छ।

भारतका प्रभावित राज्यमा बाढी, पहिरो र वर्षाका कारण थप क्षति हुन सक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित रहन तथा नदी तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ।