चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने यातायात व्यवसायीको घोषणा


काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ।

सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म सरकारले तोकेको हालकै भाडादरमा यात्रुलाई सेवा दिने बताएका हुन्।

उनले चाडपर्वमा अग्रिम टिकट बुकिङभन्दा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु मुख्य चुनौती रहेको बताए। सडकको खराब अवस्था र विभिन्न स्थानमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा समस्या रहे पनि सरकारसँग समन्वय गरेर सेवा निरन्तर सञ्चालन गरिने उनको भनाइ छ।

सिटौलाले यातायात क्षेत्रमा हुने बिचौलियाको गतिविधि तथा जथाभाबी टिकट काट्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिए। तोकिएको बसपार्क र काउन्टरबाट मात्रै टिकट काट्ने व्यवस्था गर्न सके यात्रु ठगी नियन्त्रण गर्न सकिने उनले बताए।

चाडपर्वमा यात्रुवाहक सवारीलाई प्राथमिकता दिनुपर्ने, सडकका खाल्डाखुल्डी पुर्नुपर्ने तथा सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने माग गर्दै उनले मालवाहक सवारी साधनलाई आवश्यकताअनुसार निश्चित समय रोक्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे।

महासंघले अग्रिम बुकिङ भएका सवारीलाई अन्य प्रयोजनमा प्रयोग नगर्न व्यवसायीलाई निर्देशन दिएको उनले जानकारी दिए। लामो दूरीका सवारीमा दुई जना चालक राख्ने व्यवस्थालाई समेत कडाइका साथ कार्यान्वयन गरिने उनले बताए।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि चाडपर्वको समयमा नागरिकलाई राहत दिन सरकारले मूल्य यथावत् राख्नुपर्ने सिटौलाको धारणा थियो।