काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट धम्की आएको भन्दै प्रहरीले गरेको दाबीबारे जेनजी अगुवा मिराज ढुङ्गानाले गृह मन्त्रालयसँग स्पष्टीकरण मागेका छन्।
ढुङ्गानाले गृह मन्त्रालय तथा जिम्मेवार अधिकारीलाई इमेलमार्फत पत्र पठाउँदै जबरालाई धम्की आएको भनिएको विषयको वास्तविकता, स्रोत तथा त्यससम्बन्धी कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका हुन्।
पत्रमा ‘जेनजी’ कुनै व्यक्ति, समूह वा संगठन नभई निश्चित उमेर समूहलाई जनाउने शब्द भएको उल्लेख गरिएको छ। त्यसैले कुनै घटनालाई समग्र जेनजी पुस्तासँग जोडेर प्रस्तुत गर्दा ठूलो संख्यामा रहेका नागरिकमाथि नै आरोप लाग्ने अवस्था सिर्जना हुने ढुङ्गानाको भनाइ छ।
ढुङ्गानाले गृह मन्त्रालयसँग मुख्यतः ६ विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्। जबरालाई वास्तवमै धम्की आएको हो वा होइन, धम्कीको आधिकारिक स्रोत र प्रकृति के हो तथा त्यसलाई जेनजीबाट आएको भनेर पहिचान गर्ने आधार के हो भन्नेबारे उनले स्पष्टता खोजेका छन्।
त्यस्तै, प्रहरीले गरेको अनुसन्धानबाट के निष्कर्ष निस्किएको छ, धम्की दिने व्यक्ति वा समूहविरुद्ध कुनै कानुनी प्रक्रिया अघि बढाइएको छ कि छैन र त्यसका लागि प्रयोग गरिएको कानुनी आधार के हो भन्ने विषयमा समेत जानकारी माग गरिएको छ।
समग्र जेनजी पुस्तालाई नै शंकाको घेरामा पार्ने अवस्थाबारे गृह मन्त्रालयको धारणा सार्वजनिक गर्न पनि ढुङ्गानाले आग्रह गरेका छन्।
नेपालको संविधानले नागरिकलाई कानुनको शासन र व्यक्तिगत स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले आधिकारिक अनुसन्धान र निष्कर्षबिना कुनै घटनालाई निश्चित पुस्ता वा समुदायसँग जोड्दा अनावश्यक भ्रम र अविश्वास सिर्जना हुन सक्ने बताएका छन्।
जबरालाई धम्की आएको भनिएको विषयमा देखिएको अन्योल अन्त्य गर्न तथ्यमा आधारित आधिकारिक धारणा यथाशीघ्र सार्वजनिक गर्न उनले गृह मन्त्रालयसँग अनुरोध गरेका छन्।




















प्रतिक्रिया