टिजरदेखि गीतसम्म ‘आ बाट आमा २’ टिमको लोभलाग्दो एकता


काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा एउटा पुरानो समस्या प्रायः दोहोरिने गर्छ- चलचित्रको गीत वा प्रचार सामाग्रीमा जो फिचर्ड छ, उसैले मात्र सामाजिक सञ्जालमा सेयर गर्ने र बाँकी टिम मौन बस्ने। तर, आगामी बडादशैँ (असोज ३०) मा प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को टिमले भने यतिबेला त्यो परम्परागत धारलाई पूर्ण रूपमा भत्काइदिएको छ।

केही दिनअघि सार्वजनिक भएर ऐतिहासिक रेकर्ड राख्न सफल टिजरमा मात्र होइन, मंगलबार रिलिज भएको ‘अचेल किन कान्छी’ बोलको पहिलो रोमान्टिक गीतमा समेत सम्पूर्ण कलाकार र निर्माण युनिट एक ढिक्का भएर प्रचारप्रसारमा होमिएका छन्। गीतको मुख्य भिडियोमा मुख्य रूपमा पल शाह र मलिका महतको रोमान्टिक नृत्य तथा बीचमा अभिनेता आकाश श्रेष्ठको सरप्राइज उपस्थिति मात्र देखिन्छ। तर, यसको प्रचारप्रसारमा भने फिल्मका अग्रजदेखि नयाँ पुस्ताका सम्पूर्ण कलाकारहरूले उत्तिकै अपनत्व देखाएका छन्। विपना थापा, साइग्रेस पोखरेल, सबिन श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का र दिलिप ओखेडासहित निर्देशक चन्द्र पन्त, संगीतकार बाबुल गिरी, कोरियोग्राफर गम्भीर विष्ट र सम्पादक साहिल खानलगायत सम्पूर्ण प्राविधिक युनिटले एकसाथ सामाजिक सञ्जालमा गीतलाई उत्साहका साथ सेयर र प्रवर्द्धन गरिरहेका छन्।


नेपाली फिल्म उद्योगमा यति ठूलो स्टार कास्ट भएको प्रोजेक्टमा ‘मेरो सिन छ कि छैन’ भनेर नहेरी, सिंगो चलचित्रलाई एउटा साझा परिवार मानेर सबै एकजुट भएको दृश्य निकै दुर्लभ मानिन्छ। हिरो-हिरोइनको मात्र प्रचार हुने संकीर्ण सोचलाई चिर्दै कलाकार तथा प्राविधिक युनिटले देखाएको यो सामूहिक भावना (Team Spirit) ले नेपाली सिने जगतमै एउटा सशक्त र सकारात्मक सन्देश प्रवाह गरेको छ। टिजरले ३ दिनमै ४२ लाख भ्युज कटाएर अल-टाइम रेकर्ड बनाउनु र अहिले पहिलो गीतले पनि छोटो समयमै व्यापक चर्चा पाउनुको पछाडि टिमको यही बलियो एकता र सामूहिक ऊर्जा मुख्य कारक बनेको देखिन्छ। प्रदर्शन मिति नजिकिँदै गर्दा ‘आ बाट आमा २’ टिमको यो लोभलाग्दो एकरूपताले आगामी असोज ३० गते बक्स अफिसमा चलचित्रले नयाँ उचाइ लिने आधार झनै बलियो बनाएको छ।