विजय बरालको अनौठो अवतारमा ‘जिरो डिग्री’को पोस्टर सार्वजनिक, माघ १५ मा प्रदर्शन


काठमाडौं – मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ले प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरसँगै माघ १५ गते देखि नेपालका हलमा प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक पोस्टरमा अभिनेता विजय बराललाई चलचित्रका प्रमुख पात्र ‘पुन्य चौलागाईं’को अनौठो तथा फरक अवतारमा प्रस्तुत गरिएको छ। ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि-पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मकसँगै कौतूहलपूर्ण बनाएको छ।

चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको विकट गाउँको परिवेशमा आधारित छ। आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किएसम्म शवलाई सुरक्षित राख्न गाउँमा ‘डीप फ्रिज’ बोकेर पुग्ने क्रममा उत्पन्न हुने उथलपुथलपूर्ण र हास्यपूर्ण घटनालाई चलचित्रले प्रस्तुत गर्नेछ।

यसअघि निर्माण पक्षले पहाडी बाटो हुँदै गाउँलेहरूले ठूलो काठको बाकस बोकेको दृश्य समेटिएको पोस्टर सार्वजनिक गरेको थियो। नयाँ पोस्टरले भने चलचित्रको कथावस्तु र पात्रप्रति दर्शकको कौतूहल थप बढाएको छ।

चलचित्रको कथा तथा पटकथा सजन काफ्ले र आकास बरालले तयार पारेका हुन्। उनीहरूकै संयुक्त निर्देशनमा बनेको ‘जिरो डिग्री’ हिट चलचित्र ‘बेहुली फ्रम मेघौली’पछि यो जोडीको दोस्रो चलचित्र हो।

कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायतका रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा विजय बरालसँगै सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवाललगायतका कलाकारको अभिनय रहेको छ।

मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशाल पौडेलले छायांकन गरेका हुन्। चलचित्रको सम्पादन चानस पुन मगर, रङ संयोजन राजेन्द्र मोक्तान र संगीत अङ्कित बाबु अधिकारीले गरेका छन्।

चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन्।

‘जिरो डिग्री’लाई काठमाडौं उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछ। फरक कथावस्तु, ग्रामीण परिवेश र विजय बरालको नयाँ अवतारका कारण ‘जिरो डिग्री’ प्रदर्शनअघि नै चर्चामा आउन थालेको छ।