केही दिनभित्रै खुल्छ कोदारी नाका : मन्त्री लम्साल


काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले केही दिनभित्रै कोदारी नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्।

भदौ १० गतेको बाढीका कारण केरुङ नाका तथा असोज ९ देखि ११ गतेसम्म परेको वर्षाका कारण कोरला नाकामा क्षति पुगेपछि सरकारले चीनतर्फको वैकल्पिक व्यापारिक नाकाका रूपमा कोदारी नाकालाई प्राथमिकतामा राखेको मन्त्री लम्सालले बताए।

उनका अनुसार बाढीका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अहिले सञ्चालनयोग्य बनाइएको छ। राजमार्गको अवस्था सुधार भएसँगै कोदारी नाका पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

मंगलबार पूर्वाधार विकास मन्त्रालयसहित सरकारी निकाय र सम्बन्धित सरोकारवालाको टोलीले अरनिको राजमार्गको संयुक्त स्थलगत अनुगमन गरेको थियो। अनुगमनपछि नाका सञ्चालनका लागि आवश्यक कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले बताए।

केरुङ र कोरला नाकामा भएको क्षतिका कारण चीनसँगको स्थल व्यापारमा प्रभाव परिरहेका बेला कोदारी नाका सञ्चालनमा ल्याउने तयारी गरिएको हो। सरकारले नाका सञ्चालनसँगै राजमार्ग तथा सीमावर्ती क्षेत्रमा आवश्यक पूर्वाधार व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।