दर्शकको मनोभावना बुझ्ने दीपकराज गिरी: छ माया छपक्कै २’मा कुन दृश्य राख्ने, कुन हटाउने?


काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीलाई चलचित्र र दर्शकको मनोभावना बुझ्ने कलाकारका रूपमा मान्ने गरेको छ । अभिनयसँगै निर्माण र लेखनमा समेत सक्रिय गिरी चलचित्रको अन्तिम स्वरूपलाई लिएर निकै सजग रहने गरेका छन्।

चलचित्र प्रदर्शनको केही समयअघिसम्म पनि दृश्य र फ्रेमलाई लिएर एकदमै गम्भीर हुन्छन् , दृश्य हेर्ने तथा आवश्यक परे सुधार गर्ने उनको शैली चर्चामा रहने गरेको छ। निर्माण टिमका अनुसार चलचित्रको कन्टेन्टलाई अन्तिम समयसम्म पनि मिहिन रूपमा परिमार्जन गर्ने गरिएको छ।

कुन दृश्य राख्ने वा हटाउने, संवादको प्रभाव कस्तो हुन्छ, कुन ठाउँमा हास्य र भावना थप प्रभावकारी हुन्छ तथा क्लाइमेक्सलाई कसरी प्रभावशाली बनाउने भन्ने विषयमा अन्तिम चरणसम्म मिहिनेत गरिएको निर्माण पक्षको दाबी छ। कुन दृश्यले दर्शकलाई हँसाउँछ, कहाँ भावनात्मक बनाउने र कुन ठाउँमा कथालाई थप प्रभावकारी बनाउने भन्ने विषयमा टिमसँग निरन्तर छलफल गर्ने शैलीलाई उनको काम गर्ने तरिकाको सधैभर तारिफ हुन्छ ।

चलचित्र निर्माणमा उनको जोड केवल छायांकन सकिनुमा मात्र सीमित हुँदैन। दृश्य खिच्नेदेखि संवाद, सम्पादन र अन्तिम प्रस्तुतीकरणसम्म प्रत्येक चरणमा दर्शकको प्रतिक्रियालाई केन्द्रमा राखेर काम गर्ने प्रयास हुने गरेको छ।

नेपाली चलचित्रको व्यापार कमजोर रहेको समयमै दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले व्यावसायिक रूपमा सफल चलचित्रमार्फत नेपाली फिल्मले करोडौँ रुपैयाँको व्यापार गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए । ‘छक्का पञ्जा’ सिरिजदेखि यो टिमले नेपाली फिल्मको बजार विस्तारमा आफ्नो प्रभाव स्थापित गर्दै आएको छ।

दीपक–दीपाको टिमका चलचित्रमा हास्यसँगै पारिवारिक सम्बन्ध, सामाजिक विषय र मनोरञ्जनलाई जोड्ने प्रयास हुँदै आएको छ। यही कारण उनीहरूको फिल्मप्रति दर्शकको एउटा निश्चित अपेक्षा र चासो बन्ने गरेको छ।

चलचित्र क्षेत्रमै कतिपयले दीपकराज गिरीलाई चलचित्र चलाउने मास्टरमाइन्ड निर्माताका रूपमा समेत चर्चा गर्ने गरेका छन्। यद्यपि चलचित्रको सफलता कलाकार वा निर्माताको प्रयाससँगै कथा, प्रस्तुति, दर्शकको प्रतिक्रिया र बजारको अवस्थाजस्ता विभिन्न पक्षमा निर्भर हुन्छ।

अहिले दीपकराज गिरीको टिम ‘छ माया छपक्कै २’ लिएर मैदानमा उत्रिँदैछ। असोज ३१ गते फूलपातीका दिन प्रदर्शनमा आउन लागेको यो चलचित्रबाट पनि उनको टिमले दर्शकको मनोभावना कति सही रूपमा बुझेको छ भन्ने परीक्षण हुनेछ।

फिल्म बनाउनु मात्र होइन, दर्शकलाई हलसम्म तान्ने र हलबाट सन्तुष्ट बनाएर पठाउने चुनौतीलाई केन्द्रमा राखेर काम गर्ने दीपकराज गिरीको शैलीले ‘छ माया छपक्कै २’लाई लिएर पनि अपेक्षा बढाएको छ।