दसैँमा तीन सिक्वेलको महाभिडन्त- कसले मार्ला बाजी ?



काठमाडौं – यस वर्षको दसैँ नेपाली फिल्मका दर्शकका लागि विशेष बन्ने भएको छ। दसैँको छेकोमा तीन चर्चित फिल्मका सिक्वेल छोटो अन्तरालमा प्रदर्शनमा आउने भएपछि नेपाली फिल्म क्षेत्रमा प्रतिस्पर्धा चर्किने देखिएको छ।

असोज ३० गते ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ प्रदर्शनमा आउँदैछन् भने असोज ३१ गते फूलपातीका दिन ‘छ माया छपक्कै २’ प्रदर्शन हुँदैछ।

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन्। अघिल्लो भागबाट दर्शकमाझ स्थापित बनेको बाबु–छोराको जोडी दोस्रो श्रृंखलामा पनि देखिने भएपछि फिल्मप्रति दर्शकको चासो बढेको छ।

यता पल शाह र मलिका महत अभिनित ‘आ बाट आमा २’ चन्द्र पन्तको निर्देशनमा बनेको हो। अघिल्लो फिल्मको सिक्वेल भएकाले पल र मलिकाको जोडीलाई पर्दामा पुनः हेर्न दर्शक उत्साहित देखिन्छन्।

त्यसैगरी ‘छ माया छपक्कै २’ मा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भट्टराई मुख्य भूमिकामा छन्। दीपेन्द्र लामाले निर्देशन गरेको यो फिल्म फूलपातीका दिन प्रदर्शनमा आउँदैछ।

तीनै फिल्मका अघिल्ला भागले दर्शकमाझ छुट्टै पहिचान बनाइसकेका कारण यसपटकको प्रतिस्पर्धालाई विशेष रूपमा हेरिएको छ। एकातिर एक्सन, अर्कोतिर प्रेमकथा र अर्कोमा कमेडी तथा पारिवारिक मनोरञ्जन लिएर फिल्महरू दर्शकमाझ आउँदैछन्।

रोचक कुरा, पर्दामा फिल्मबीच प्रतिस्पर्धा भए पनि कलाकारबीच भने आत्मीयता देखिएको छ। हालै दीपकराज गिरी र पल शाहको भेटमा दुवैले एकअर्काको फिल्मलाई शुभकामना दिएका थिए।

यसअघि दसैँमा प्रदर्शनको तयारीमा रहेको अनमोल केसी अभिनित ‘बाटुलो जून’ को रिलिज मिति भने कात्तिक २६ गते सारिएको छ।

अब दसैँमा कुन सिक्वेलले दर्शकको मन जित्छ र कुन फिल्मले बक्स अफिसमा कस्तो प्रभाव पार्छ, त्यसका लागि भने फूलपातीदेखि सुरु हुने फिल्मी भिडन्त कुर्नुपर्नेछ।