काजीको सुखी संसारमा मैयाँको इन्ट्री, विपिन आएपछि ‘कबड्डी ५’मा उल्टियो खेल


काठमाडौं – २०७९ सालमा प्रदर्शन भएको ‘कबड्डी ४’लाई ‘द फाइनल म्याच’ भन्दै काजी, मैयाँ र सोल्टिनीको कथा टुंग्याइएको थियो। तर, अब ‘कबड्डी ५’ मार्फत काजीको कथा फेरि नयाँ मोडमा फर्किएको छ।

फिल्मको टिजर सार्वजनिक भएसँगै कथाबारे केही रोचक संकेत बाहिरिएका छन्। अघिल्ला श्रृंखलाझैँ यसपटक पनि दयाहाङ राईको काजी कथाको केन्द्रमा छन्। तर, काजीको जीवनमा यसपटक ठूलो परिवर्तन आएको छ- उनको विवाह सिर्जना गुरुङसँग भइसकेको छ।
त्यसैले यसपटक काजीको दौडधुप सोल्टिनीका लागि हुने देखिँदैन। तर, विपिन कार्कीको प्रवेश र वर्षौंपछि मैयाँ अर्थात् रिश्मा गुरुङको पुनरागमनले काजीको जीवनमा फेरि हलचल ल्याएको छ।

टिजरमा विपिन कार्की काजीको घर सोध्दै आइपुगेपछि दर्शकमा नयाँ कौतुहलता थपिएको छ। विपिनको आगमनसँगै मैयाँ फेरि काजीको हात नपर्ने हुन् कि? यही प्रश्नले ‘कबड्डी ५’को कथा थप रोचक बनाएको छ।

‘कबड्डी’देखि ‘कबड्डी ५’सम्म आइपुग्दा काजी नेपाली दर्शकमाझ निकै आत्मीय पात्र बनेका छन्। उनको प्रेम, संघर्ष र एक्लोपनसँग दर्शक जोडिँदै आएका छन्। त्यसैले पनि काजीको जीवनमा फेरि आएको यो नयाँ ट्विस्टले दर्शकको चासो बढाएको छ।

टिजरको अर्को आकर्षण भनेको काजी, बिके र छन्त्यालबीचको केमेस्ट्री हो। यी पात्रको सम्बन्ध, संवाद र हास्यले फिल्ममा मनोरञ्जनसँगै नयाँ उतारचढावको संकेत गरेको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन्। सागर राज कार्यकारी निर्माता छन्। फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

दसैँको अवसर पारेर ‘कबड्डी ५’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ। टिजरले एउटा कुरा भने प्रस्ट पारेको छ-काजीको खेल सकिएको छैन, फेरि सुरु भएको छ।