म्याग्दी । बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ।
ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्क फेदीस्थित बाँधमा बाढी पसेर भौतिक संरचनामा क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको हो।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा, बाढी र पहिरोका कारण आयोजनाको उत्पादन बन्द भएको हो।
रेलेखर्क क्षेत्रमा पहिरो गएपछि रेलेखोलामा बाढीको सतह बढेर बाँध क्षेत्रमा थुप्रिएको छ। बाढी र पहिरोका कारण बाँधका भौतिक संरचनामा समेत क्षति पुगेको जनाइएको छ।
भौगोलिक रूपमा दुर्गम क्षेत्रमा रहेको बाँधसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध भएको छ। पहुँचमार्ग अवरुद्ध हुँदा बाढी पन्छाएर बाँध मर्मत गरी आयोजना पुनः सञ्चालन गर्न कठिनाइ भएको आयोजना प्रमुख काफ्लेले बताए।
गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। उत्पादन बन्द भएपछि आयोजनाले विद्युत् बिक्रीबाट हुने आम्दानीसमेत गुमाइरहेको छ।
यसैबीच, कालीगण्डकीमा आएको बाढी र पहिरोका कारण प्रसारण लाइनका टावर बग्नुका साथै तार चुँडिएर क्षति पुगेको जनाइएको छ। आयोजनाको पुनः सञ्चालनका लागि बाँध तथा पहुँचमार्गको क्षति हटाउनुपर्ने अवस्था रहेको छ।






















प्रतिक्रिया