काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा गम्भीर अनियमितता भइरहेको आरोप लगाउँदै तत्काल छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद अन्सारीले मेडिकल कलेजमा अध्ययनरत पोस्ट–ग्रेजुएट (पीजी) विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको बताए। आन्दोलनरत विद्यार्थीलाई होस्टेल खाली गर्न लगाइएको, अस्पतालमा काम गर्न नदिइएको र कलेज प्रवेशमै रोक लगाइएको उनको भनाइ थियो।
अन्सारीले आन्दोलनरत विद्यार्थीहरूले मेडिकल कलेजको नाममा भइरहेको भनिएको अनियमितता बाहिर ल्याएको दाबी गर्दै कलेजमा २५ जनाभन्दा बढी ‘फेक फ्याकल्टी’ रहेको आरोप लगाए। उनका अनुसार नक्कली प्राध्यापक देखाएर पीजी सिट लिने गरिएको छ।
चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत गम्भीर अनियमितता गरिएको आरोप उनले लगाए। आयोगको टोली निरीक्षणमा आउँदा इमर्जेन्सी कक्षमा सुरक्षा गार्डलाई नै बिरामी बनाएर उपचार गराएको देखाइएको उनको दाबी थियो। कलेज व्यवस्थापनले नै यस्तो कार्य गर्न बाध्य पारेको उनले आरोप लगाए।
सांसद अन्सारीले विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराइदिने नाममा रकम असुल्ने गरिएको आरोपसमेत लगाए। उनका अनुसार नेपाली विद्यार्थीबाट एउटा विषय पास गराइदिने नाममा ३ लाख रुपैयाँ र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँसम्म लिने गरिएको छ। उत्तरपुस्तिकामै उत्तर लेखेर पास गराउनेजस्तो गतिविधि भइरहेको दाबी गर्दै उनले यस्तो अवस्था गम्भीर रहेको बताए।
उनले विगतमा समेत उक्त मेडिकल कलेजसँग सम्बन्धित विवादास्पद गतिविधिका तस्बिर सार्वजनिक हुँदा सम्बन्धित राज्य संयन्त्रले प्रभावकारी कारबाही नगरेको आरोप लगाए। चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित निकायले यस विषयमा गम्भीर चासो नदेखाएको उनको भनाइ थियो।
सांसद अन्सारीले सरकार र सम्बन्धित मन्त्रीलाई तत्काल गम्भीरतापूर्वक छानबिन गर्न आग्रह गरे। मेडिकल कलेजका गतिविधिका कारण विद्यार्थीको भविष्य अन्योलमा पार्न नहुने भन्दै उनले दोषी देखिए सम्बन्धित पक्षमाथि आवश्यक कारबाही गर्न माग गरे।






















प्रतिक्रिया