भुवन र अनमोलको ‘बाटुलो जून’को टिजर सार्वजनिक, कात्तिक २६ गतेदेखि प्रदर्शनमा


काठमाडौं – कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको टिजरले फिल्मको परिवेश, कथा र पात्रहरूको झलक प्रस्तुत गरेको छ ।

टिजरमा फिल्मको कथाबारे सम्पूर्ण जानकारी नदिई कथाका विभिन्न आयाम तथा केही क्यान्डिड दृश्यलाई प्राथमिकता दिइएको छ । जसले दर्शकमाझ फिल्मको कथालाई लिएर कौतुहलता सिर्जना गर्ने देखिन्छ ।

‘बाटुलो जून’ ३० को दशकको परिवेशमा आधारित प्रेमकथामा निर्माण भएको फिल्म हो । फिल्मले त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ । अहिलेको प्रविधिमैत्री र तीव्र रूपमा परिवर्तन भइरहेको प्रेमभन्दा फरक तत्कालीन समयको प्रेम र समाजलाई फिल्ममा देखाइएको निर्माणपक्षले जनाएको छ ।

फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् । उनले यसअघि ‘ड्रिम्स’मार्फत उत्तरआधुनिक प्रेमकथा प्रस्तुत गरेका थिए । ‘बाटुलो जून’मा भने उनले नेपाली समाजमा प्रेमकथाको फरक समय र परिवेशलाई पर्दामा उतारेका छन् ।

फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन् भने भुवन केसी स्वयं पनि महत्वपूर्ण भूमिकामा देखिँदैछन् । फिल्मबाट प्रिन्सी खतिवडाले अभिनयमा डेब्यु गरेकी छन् । त्यस्तै, बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यही फिल्ममार्फत अभिनयमा पुनरागमन गरेकी छन् ।

सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पाश्र्व संगीत रहेको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा छन् ।

फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह–निर्माता रहेका छन् । सनराइज पिक्चर प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्ममा भुवन केसी र उनका छोरा अनमोल केसी पहिलोपटक एकसाथ पर्दामा देखिँदैछन् ।

भुवन र अनमोलको सहकार्य तथा ३० को दशकको प्रेमकथालाई केन्द्रमा राखिएको भएकाले ‘बाटुलो जून’को टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ ।