काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले बालिकामाथि हुने जघन्य अपराध तथा महिला हिंसाको बढ्दो समस्याबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले यसअघि सदनमा उठाइएको तीन वर्षीय बालिकामाथिको बलात्कारको घटनासहित बालिकामाथि हुने जघन्य अपराध नियन्त्रणका लागि सरकारले अघि बढाउने भनिएका कामबारे प्रश्न गरिन्।
उनले उक्त विषय सदनमा उठाउँदा सरकारले तत्काल प्रतिक्रिया जनाउँदै आवश्यक पहल अघि बढाएकोप्रति धन्यवाद दिइन्। तर, तयार भएको भनिएको प्रतिवेदनमाथि अहिले के काम भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने उनको भनाइ थियो।
‘यो विषय हाम्रो प्राथमिकताबाट हराएको छैन भन्नेमा म विश्वस्त छु। यसमा तयार भएको भनिएको अपेक्षित प्रतिवेदनमाथि के काम हुँदैछ, त्यो जान्न चाहन्छु,’ उनले भनिन्।
सांसद श्रेष्ठले भारतमा उठिरहेका महिला हिंसाविरुद्धका आवाज तथा कर्नेल विश्वविद्यालयसँग जोडिएको घटनाको प्रसङ्गसमेत उल्लेख गर्दै महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै एक समाज वा समुदायको मात्रै समस्या नभएको बताइन्।
यस्ता घटना नियन्त्रणका लागि राज्यको प्रयास मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले राज्य, समाज र व्यक्ति तीनै तहबाट निरन्तर पहल आवश्यक रहेकोमा जोड दिइन्।
बालिका तथा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रभावकारी कानुनी कार्यान्वयन, सामाजिक सचेतना र व्यक्तिगत जिम्मेवारीलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।






















प्रतिक्रिया