सुकुम्वासीका पीडा नसुनिएको भन्दै सरकारको ध्यानाकर्षण : धिताल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रमुख सचेतक क्रान्तिशिखा धितालले विभिन्न घटनाका पीडितको समस्या समयसँगै ओझेलमा पर्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले एउटा घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएपछि अघिल्लो पीडा बिर्सने प्रवृत्ति देखिएको बताइन्। उनले पीडितलाई केही दिनको सहानुभूतिमा सीमित नगरी उनीहरूको जीवन सामान्य नहुन्जेल राज्यले साथ दिनुपर्नेमा जोड दिइन्।

‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ, अर्को घटना आएपछि अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। खासमा हामीलाई दुःखको लत लागेको छ,’ उनले भनिन्।

जेनजी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या तथा रसुवाको बाढीपछि सुकुम्वासीले भोगेको पीडा क्रमशः ओझेलमा परेको उनले बताइन्।

‘हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौँ ? बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्,’ धितालले प्रश्न गरिन्।

नागरिकको पीडामा राज्यले विभेद गर्न नहुने बताउँदै उनले सबै पीडितका समस्या समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखिन्। राज्यले पीडितको दुःखमा केही समयका लागि सहानुभूति मात्र देखाउने नभई दीर्घकालीन समाधानसहित साथ दिनुपर्ने उनको भनाइ थियो।

‘राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहोऔँ। पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणामसहित उभियोस्,’ उनले भनिन्।