‘सांसदको काम बजेट माग्नु मात्रै होइन’ : लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका आफ्नो निर्वाचन क्षेत्रमा बजेट माग्ने काममा मात्र सीमित हुन नहुने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने र राज्यको ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

निर्वाचन क्षेत्रमा विकासका लागि बजेट माग्नु स्वाभाविक भए पनि राष्ट्रिय अर्थतन्त्रको समग्र अवस्थाप्रति सांसदहरू गम्भीर हुनुपर्ने उनले बताए। भकारी रित्तो राखेर निरन्तर अन्न मागिरहे एक दिन भकारी नै रित्तिने उदाहरण दिँदै लामिछानेले नीति निर्माण तहमा रहेका प्रतिनिधिको मुख्य जिम्मेवारी राष्ट्रिय ढुकुटी जोगाउनु र बलियो बनाउनु रहेको बताए।

‘हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ,’ उनले भने।

लामिछानेले आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने परम्परागत प्रक्रियामा सीमित गर्न नहुने बताए। संसद्लाई उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात प्रवर्द्धनका लागि ठोस नीति निर्माण गर्ने प्रभावकारी थलोका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

उनका अनुसार निर्वाचन क्षेत्रमा एउटा योजना पार्दा तत्काल केही नागरिक लाभान्वित भए पनि अर्थतन्त्रलाई बलियो बनाउने नीतिले सिङ्गो देश र भावी पुस्तालाई दीर्घकालीन लाभ पुर्‍याउन सक्छ।

त्यसैले अबको संसदीय प्राथमिकता राष्ट्रिय ढुकुटी भर्ने, उत्पादन बढाउने र सबल आर्थिक वातावरण निर्माण गर्ने नीतिमा केन्द्रित हुनुपर्नेमा लामिछानेले जोड दिए।