प्राकृतिक ग्यास उत्खनन रोकिएपछि संसद्मा प्रश्न, प्राविधिक हराएकोबारे पनि चासो


काठमाडौँ । दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीबाट भइरहेको प्राकृतिक ग्यास उत्खनन कार्य अचानक रोकिएको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ। नेपाली कांग्रेसका सांसद कालीबहादुर सहकारीले उत्खनन क्षेत्र सुरक्षाकर्मीको मात्र निगरानीमा रहनु र प्राविधिक टोली नदेखिनुले गम्भीर प्रश्न उब्जिएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सहकारीले आफूले हालै जलजले क्षेत्रको अनुगमन गर्दा कुनै पनि विशेषज्ञ वा प्राविधिक टोली नभेटिएको जानकारी दिए। उनका अनुसार असोज १४ गते उत्खनन क्षेत्रमा पुग्दा सुरक्षाका लागि खटिएका प्रहरीबाहेक अन्य व्यक्ति भेटिएका थिएनन् भने आयोजनाको कामसमेत पूर्ण रूपमा स्थगित अवस्थामा थियो।

सांसद सहकारीले उक्त आयोजनाबाट लामो समयसम्म मिथेन ग्यास उत्पादन गर्न सकिने प्रारम्भिक दाबी गरिएको उल्लेख गर्दै महत्वपूर्ण सम्भावना बोकेको आयोजना अलपत्र पर्नु चिन्ताजनक भएको बताए।

‘यति ठूलो महत्त्व बोकेको राष्ट्रिय गौरवको आयोजनाका बारेमा सरकार किन बेखबर छ ? सरकार र प्राविधिक टोलीबीच समन्वय छ कि छैन वा कुनै प्रतिवेदन तयार हुँदैछ ?’ भन्दै उनले सरकारसँग जवाफ मागे।

उनले स्वदेशमै उपलब्ध प्राकृतिक स्रोतको उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न सकिने सम्भावना हुँदाहुँदै आयातमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। देशमै उत्पादन हुने स्रोतको उपयोग गर्न सकिए परनिर्भरता घटाउन सकिने उनको भनाइ थियो।

हाल खाना पकाउने ग्यासको अभाव र आयातित ग्यासमा निर्भरता रहेको अवस्थामा दैलेखमा भइरहेको प्राकृतिक ग्यास उत्खनन कार्य रोकिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सांसद सहकारीले बताए।

उनले आयोजनाको वर्तमान अवस्था, उत्खनन रोकिनुको कारण, प्राविधिक टोलीको अवस्थालगायत विषयमा सरकारले तत्काल स्पष्ट जानकारी दिनुपर्ने माग गरे। साथै आयोजना कहिलेदेखि पुनः सञ्चालन हुन्छ र आगामी कार्ययोजना के छ भन्नेबारे संसद् र जनतालाई जानकारी गराउन पनि उनले आग्रह गरे।