धौलीगङ्गा बाँधका ढोका खोलिँदै, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह


महेन्द्रनगर । भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार सूचना जारी गर्दै शनिबारदेखि सोमबारसम्म धौलीगङ्गा जलविद्युत् परियोजनामा सिल्ट सफाइको काम हुने जनाएको छ। उक्त कार्यका लागि बाँधका ढोका खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्न सक्ने प्रशासनले जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सिल्ट सफाइका लागि करिब ४८ घण्टासम्म बाँधको ढोका खोलिनेछ। त्यस क्रममा महाकाली नदीको जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका स्थानीयलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको हो।

प्रशासनले शनिबार राति १ बजेदेखि सोमबार राति १ बजेसम्म महाकाली नदीको जलस्तर बढ्न सक्ने जनाएको छ। सो अवधिमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।

प्रशासनले नदीमा पानीको बहाव बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी आसपासका क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।