विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा ५–२० प्रतिशतसम्म बिजुली खेर जान्छ : ऊर्जामन्त्री


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्दा ५ देखि २० प्रतिशतसम्म विद्युत् अनावश्यक रूपमा खपत हुने बताएका छन्। उनले अनावश्यक विद्युत् खपत घटाउन आम उपभोक्तासँगै सरकारी कार्यालयहरूमा समेत मितव्ययी प्रयोगको अभ्यास कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले नेपालमा विद्युत् उपभोक्ताको सङ्ख्या करिब ६० देखि ६५ लाख रहेको जानकारी दिए। प्रत्येक घरमा हुने थोरै परिमाणको अनावश्यक विद्युत् खपतले समग्र विद्युत् प्रणालीमा ठूलो प्रभाव पार्ने उनको भनाइ छ।

उनका अनुसार मल्टिप्लगमा चार्जर जोडेर छाड्ने, टेलिभिजनलगायतका विद्युतीय उपकरण स्ट्यान्डबाइमा राख्ने जस्ता गतिविधिबाट विद्युत् खपत भइरहन्छ। यस्तो खपतलाई ‘एनर्जी भ्याम्पायर’ वा ‘फ्यान्टम इनर्जी’ भनिने उनले बताए।

मन्त्री श्रेष्ठले विद्युत्को अनावश्यक खपत घटाउन सके ट्रान्सफर्मरमा पर्ने अतिरिक्त भार कम गर्न तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई सहज बनाउन सहयोग पुग्ने बताए। विद्युत् आपूर्तिमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताले नै भोग्नुपर्ने भएकाले जनचेतनामार्फत विद्युत्को सदुपयोगमा जोड दिनुपर्ने उनको भनाइ छ।

‘हरेक घरमा मल्टिप्लगमा चार्जर जोडेर छोड्ने, टिभी स्ट्यान्डबाइमा राख्ने लगायतका कारणले ५ देखि २० प्रतिशतसम्म विद्युत् अनावश्यक खपत हुने अध्ययनहरूले देखाएका छन्,’ मन्त्री श्रेष्ठले भने, ‘कसैलाई यो नचलाउनुहोस् भनेको होइन, तर खेर जाने विद्युत् रोकेर ट्रान्सफर्मरको लोड कम गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो।’

उनले जाडो महिना नजिकिँदै जाँदा विद्युत्को माग बढ्ने र हालै भएका दुईवटा बाढीका कारण ऊर्जा क्षेत्रमा पुगेको क्षतिबाट पुनःस्थापनाको कामसमेत जारी रहेकाले सबैले जिम्मेवारीपूर्वक विद्युत् प्रयोग गर्नुपर्ने बताए।

सरकारी कार्यालयमा पनि मितव्ययी प्रयोग

मन्त्री श्रेष्ठले विद्युत्को मितव्ययी प्रयोग आम नागरिकमा मात्र सीमित नराखी सरकारी कार्यालयहरूमा समेत कडाइका साथ लागू गर्नुपर्ने बताए।

उनका अनुसार राति कार्यालय बन्द भएपछि अनावश्यक बत्ती तथा विद्युतीय उपकरण बन्द गर्ने विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका प्रशासनिक निकायसँग आवश्यक समन्वय भइरहेको छ।

सिंहदरबारलगायतका सरकारी कार्यालयमा कार्यालय समय सकिएपछि पनि हिटर, पङ्खा तथा एसी चलिरहने अवस्था रहेको स्मरण गर्दै मन्त्री श्रेष्ठले यसपटक त्यस्ता उपकरण अनावश्यक रूपमा सञ्चालन हुन नदिने प्रयास भइरहेको बताए।

हालको परिस्थितिमा विद्युत्को मितव्ययिता र सदुपयोगका लागि तीनै तहका सरकार तथा आम नागरिक संवेदनशील बन्नुपर्नेमा उनले जोड दिएका छन्।