३१ दिनमा सकियो ‘भिडियोटेप’को छायांकन, उपासना र कुन्दन मुख्य भूमिकामा


काठमाडौं – एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ ।

भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा सुरु भएको फिल्मको छायांकन काठमाडौंमा तीन रात समेत गरिएको निर्माणपक्षले जनाएको छ । फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा छन् ।

फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय छ ।
वशिष्ट प्रधानको डीओपी रहेको फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर छन् । फिल्मको निर्देशन ओविद उद्दिनले गरेका हुन् । निर्देशक उद्दिनले सम्पूर्ण टिमको मेहनतका कारण निर्धारित समयमै छायांकन सम्पन्न भएको बताए ।

हरर फिल्मप्रति आफ्नो सुरुदेखिकै रुचि रहेकाले ‘भिडियोटेप’ निर्माणमा जोडिएको उनको भनाइ छ । फिल्ममा महेश बराल मुख्य सहायक निर्देशकका रूपमा छन् । फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।