काठमाडौं – बेलायतमा नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै आगामी अक्टोबर ९ तारिख ‘सुम्निमा साँझ’ विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। एल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूले प्रस्तुति दिने आयोजकले जनाएको छ।
सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा मेलिना राई, ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का उपविजेता रोशन राई, प्रताप दास, पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे तथा अभिनेत्री रजनी गुरुङ लगायत कलाकारको प्रस्तुति रहनेछ।
विशेषगरी ‘द भ्वाइस अफ नेपाल’मा कोच र कन्टेस्टेन्टका रूपमा चर्चित मेलिना राई र रोशन राई एउटै मञ्चमा प्रस्तुत हुने भएकाले ‘सुम्निमा साँझ’ थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सञ्चालन सुशील नेपालले गर्नेछन्। नेपालबाट कलाकारहरूको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ पनि कार्यक्रमका आयोजक हुन्।
मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई समेत जोडिएको कार्यक्रममा प्राप्त आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी र रसुवाका बाढीपीडित परिवारलाई सहयोग गरिने आयोजकले जनाएको छ।
नेपाली गीत–संगीत, कला र संस्कृतिलाई बेलायतमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुम्निमा साँझ’ले बेलायतमा रहेका नेपाली दर्शक तथा श्रोतामाझ विशेष सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया